नेपाली कांग्रेसले विशेष महाधिवेशनको माग औचित्यहीन भएको भन्दै पार्टीका नेता–कार्यकर्तालाई त्यसतर्फ नलाग्न आग्रह गरेको छ। पार्टी केन्द्रीय कार्यालयद्वारा पौष २३ गते जारी विज्ञप्तिमा मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा १५औं महाधिवेशनको कार्यतालिका स्वीकृत भइसकेकाले विशेष महाधिवेशनको माग स्वतः समाप्त भइसकेको भनिएको छ।
विज्ञप्तिअनुसार १५औं सामान्य महाधिवेशनको तयारीअन्तर्गत क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको प्रक्रिया निरन्तर चलिरहेको छ। यही आधारमा वडा अधिवेशन हुँदै महाधिवेशनसम्मको प्रक्रिया अघि बढ्ने उल्लेख गरिएको छ। तर, केही स्थानबाट तोकिएको समयमै क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा पेश नभएको पनि विज्ञप्तिमा जनाइएको छ।
उता प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेस गरिसकेको र राष्ट्रिय सभा सदस्यको मनोनयन पनि दर्ता भइसकेको पार्टीले जनाएको छ। केही विदेशस्थित नेपाली जनसम्पर्क समितिले अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधि चयन गरिसकेको पनि जानकारी दिइएको छ।
यसै सन्दर्भमा सञ्चारमाध्यममार्फत विशेष महाधिवेशन बोलाइएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै कांग्रेसले यस्तो सूचना भ्रामक रहेको स्पष्ट गरेको छ। कांग्रेसले पार्टीको विधानअनुसार अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्रै रहेको दोहोर्याएको छ। व्यक्तिगत रूपमा पदाधिकारी वा सदस्यले विशेष महाधिवेशन बोलाएको नाममा गरिने गतिविधि विधानविपरीत हुने चेतावनी पनि दिइएको छ।
पार्टीले केन्द्रदेखि वडा तहसम्मका सबै समितिहरू, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूलाई विधानविपरीतका क्रियाकलापमा नजोडिन आग्रह गरेको छ।
आगामी निर्वाचनलाई अत्यन्त महत्वपूर्ण जिम्मेवारीको रूपमा लिँदै पार्टीका सबै सदस्य, समर्थक र शुभेच्छुकलाई कांग्रेसका उम्मेदवारलाई विजयी गराउने अभियानमा सक्रिय सहभागिता जनाउन अपिल गरिएको छ।