राष्ट्रिय सभा निर्वाचन : कोशीमा तीन पदका लागि पाँचजनाको उम्मेदवारी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

तीन राष्ट्रिय सभा सदस्यका लागि कोशीमा पाँचजनाले उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट तीन र नेकपाबाट दुईजनाले उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेस–एमाले गठबन्धनको सहमतिअनुसार कांग्रेसका सुनीलबहादुर थापाले ‘अन्य’तर्फ तथा एमालेका सोमनाथ पोर्तेलले ‘दलित’ र रोशनी मेचेले ‘महिला’तर्फ उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट नमिता न्यौपानेले ‘महिला’तर्फ र खेमराज सुन्दासले ‘दलित’तर्फ उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट उम्मेदवार बनाइएका हेमराज घिमिरेले वारेसमार्फत पठाएको मनोनयनको आवेदनमा रितपूर्वक हस्ताक्षर नभएपछि उम्मेदवारी कायम हुन सकेन।

स्थायी संसद् राष्ट्रिय सभाको रिक्त १८ पदका लागि ११ माघमा निर्वाचन हुँदै छ। निर्वाचनबाट कोशीमा एक दलित, एक महिला र एक अन्य क्लस्टरबाट गरी तीनजना सदस्य निर्वाचित हुनेछन्।

कांग्रेसका सुनील थापा निर्विरोध
राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट कांग्रेसका सुनील थापा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट ‘अन्य’ क्लस्टरमा उम्मेदवारी दिएका थापाको विपक्षमा कसैको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्।

निर्विरोध निर्वाचित भएको परिणाम भने निर्वाचन प्रक्रियाअनुसार २७ पुसमा मात्र सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत भीष्म प्रसाईंले बताए।

सुझावित समाचार