आउँदो माघ १६ गतेदेखि सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मेयर गोल्डकप २०८२’ आयोजना हुने भएको छ। खेल र खेलाडीको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन गर्न लागिएको उक्त प्रतियोगिताबारे बुधबार आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।
लालबन्दी नगरपालिका–१ स्थित नवलपुर फुटबल रंगशालामा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल माघ २७ गते हुने आयोजक संस्था जीवेश्वर युवा क्लबका अध्यक्ष दिपेन्द्र बुढाथोकीले जानकारी दिए। लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको यस प्रतियोगिताले स्थानीय स्तरका खेलाडीको प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुग्ने आयोजकको अपेक्षा छ।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै ‘म्यान अफ द म्याच’सहित अन्य पाँच विधामा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गरिने अध्यक्ष बुढाथोकीले बताए।
पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार लालबन्दी नगरपालिकाबाट थप २ लाख रुपैयाँसहित कुल ९ लाख रुपैयाँ, वडा कार्यालयबाट ५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ। साथै विभिन्न सहयोगी संघ–संस्था तथा उद्योगी व्यवसायीबाट आर्थिक सहयोग संकलन गरिएको छ। प्रतियोगिताको कुल लागत २४ लाख ३६ हजार ३ सय ४० रुपैयाँ अनुमान गरिएको छ।
प्रतियोगिताले यस क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्याउने लालबन्दी नगरपालिका–१७ का वडाध्यक्ष तथा नगर खेलकुद विकास समिति संयोजक विष्णु अधिकारीले बताए।
प्रतियोगितामा कोशी प्रदेशका २, बागमती प्रदेशका २ र मधेश प्रदेशका ८ गरी जम्मा १२ टिमको सहभागिता रहनेछ। सहभागी टिमहरूमा सर्लाहीको जीवेश्वर युवा क्लब, पर्साको वीरगन्ज युनाइटेड, बाराको रतनपुर युनाइटेड, रौतहटको नेपाल खेलकुद क्लब, महोत्तरीको ब्याङखाडी युवा क्लब, धनुषाको धनुषा–११, सिरहाको गोलबजार स्पोर्ट्स क्लब, सप्तरीको न्यू त्रियुगा स्पोर्ट्स क्लब, उदयपुरको गाईघाट युवा क्लब, सुनसरीको इनरुवा फुटबल क्लब, चितवनको भरतपुर फुटबल क्लब र हेटौँडाको मकवानपुर जिल्ला फुटबल संघ रहेका छन्।
यस प्रतियोगितालाई नगरपालिकाको वार्षिक कार्यक्रम तथा पात्रोमा समावेश गरी हरेक वर्ष नियमित रूपमा आयोजना गरिने आयोजक क्लबले जनाएको छ। नगरपालिका भित्रका विभिन्न खेल मैदान तथा रंगशालामा प्रतियोगिता सञ्चालन हुँदा नगरको समग्र खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा लालबन्दी नगरपालिका–१ का वडाध्यक्ष हरिबहादुर भट्टराईले व्यक्त गरे।