उद्योगी–व्यवसायी र सरोकारवालाले कृत्रिम बौद्धिकता (एआई)लाई रोजगारी सिर्जना र उद्यमशीलता विकासमा प्रयोग गर्ने नीति लिन सरकारलाई सुझाव दिएका छन् । उनीहरूले लागत घटाउने, आर्थिक परादर्शिता तथा सुशासन कायम गर्ने र रोजगारी सिर्जना गराउने गरी एआईको प्रयोग हुनुपर्नेमा जोड दिएका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको ‘एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्यबारे’ बृहत् अन्तक्र्रियाका सहभागी तथा वक्ताहरूले हरेक क्षेत्रमा एआईको सदुपयोग गर्नुपर्ने धारणा राखेका हुन् । उनीहरूले एआईको माध्यमबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्नेमा जोड दिए । यसका लागि सरकार, निजी क्षेत्र र सरोकारवालाबिच सहकार्य आवश्यक रहेको उनीहरूले बताए ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशको सुुशासनका लागि आइटीको विकास महत्वपूर्ण भएको बताए । सरकारी सेवालाई चुुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि आइटीको विकास महत्वपूर्ण हुने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल चेम्बरका अध्यक्ष कमलेशकुुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार बन्दै गएको बताए । डिजिटल रूपान्तरणमार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यावसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै अग्रवालले सरकारले सोहीअनुसारको नीति लिनुपर्ने बताए ।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आइटीको विकासमार्फत दिगो आर्थिक विकास गर्नुुपर्ने बताए । सार्वजनिक–निजी साझेदारीमार्फत आइटी क्षेत्रको विकास गर्न सकिए युवाको वैदेशिक पलायन रोक्न सकिने उनको भनाइ थियो । उक्त अवसरमा चेम्बरको आइटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युनियन अफ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी नेपालबिच सूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतासमेत भएको छ ।