नेपालको टी–२० विश्वकप टोली घोषणा : शेर मल्लले पहिलोपटक स्थान बनाउँदा बसिर र जोराको पुनरागमन

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताका लागि मंगलबार नेपाली टोलीको घोषणा भएको छ । शेर मल्लले पहिलोपटक स्थान बनाउँदा बसिर अहमद र सन्दीप जोरा टोलीमा पुनरागमन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)को प्रारम्भिक चरणमा परेका नौजना खेलाडी अन्तिम चरणबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक स्टुवार्ट लले अनुभवी र युवा खेलाडीलाई प्राथमिकतामा राखेका छन् । नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेल र उपकप्तानीमा दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । 

गत २७ मंसिरमा भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले विश्वकप टोलीमा स्थान बनाउन सकेनन् । एनपिएलमा सुदूरपश्चिम रोयल्सका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, अविनाश बोहरा र ईशान पाण्डेले उत्कृष्ट प्रदर्शन गरे पनि राष्ट्रिय टोलीमा स्थान सुरक्षित गर्न सकेनन् । यसैगरी, एनपिएलमा काठमाडौं गोर्खाजले महँगा खेलाडीका रूपमा भिœयाएका आदिल अन्सारी पनि अन्तिम सूचीमा परेनन् । 

विराटनगर किंग्सलाई पहिलोपटक प्ले–अफमा पुर्याउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेका प्रतिश जिसी, जनकपुर बोल्ट्सका रूपेश सिंह र काठमाडौंका भीम सार्की पनि बाहिरिएका छन् । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको टी–२० विश्वकप खेलेका अनिल शाह, कुशल मल्ल, कमलसिंह ऐरी र सागर ढकाल भने योपटक टोलीमा परेनन् । टोलीमा पुनरागमन गर्दा बसिरले दोस्रो एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

विराटनगर किंग्सबाट प्रतिस्पर्धा गरेका बसिरले नौ खेलमा एक सय ९१ रन बनाएका थिए । नेपाली राष्ट्रिय टोली ‘ए’ र त्रिभुवन आर्मीका खेलाडी बसिरले एनपिएलमा कर्णाली याक्सविरुद्ध विराटनगरलाई सनसनी जित दिलाउने क्रममा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

शेर पहिलोपटक टोलीमा 
लुम्बिनी लायन्सलाई पहिलोपटक एनपिएलको विजेता बनाउने क्रममा शेरले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए । यसै प्रदर्शनका आधारमा उनी राष्ट्रिय टोलीको प्रारम्भिक प्रशिक्षणमा परेका थिए । क्लोज क्याम्पमा उत्कृष्ट प्रदर्शन गरेका कारण उनले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । दोस्रो एनपिएलमा उनले कुल १० खेलमा बलिङ गरी सर्वाधिक १७ विकेट लिएका थिए । सो एनपिएलमा १७ विकेट लिने तीन बलर थिए । विराटनगरका सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहरा थिए । रनरेटका कारण शेर तेस्रो स्थानमा रहे । लुम्बिनीबाट लिग चरणमा उनले विराटनगर र जनकपुरविरुद्ध उत्कृष्ट बलिङ प्रदर्शन गरे । त्यसपछि पहिलो इलिमिनिटरमा उनले काठमाडौंविरुद्ध २२ रन खर्चेर तीन विकेट लिए । उपाधि भिडन्तमा सुदूरपश्चिमविरुद्ध उनी थप सशक्त रूपमा प्रस्तुत भए । यस खेलमा उनले १८ रन खर्चेर तीन विकेट हात पारे । एनपिएलमा शेर उदीयमान खेलाडी बनेका थिए ।

तेस्रोपटक विश्वकप खेल्दै सोमपाल
सोमपाल कामी लगातार तेस्रोपटक विश्वकप खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको टी–२० विश्वकपमा नेपालले डेब्यु गरेको थियो । सो टोलीमा सोमपाल थिए । क्यानको घोषित खेलाडीमध्ये उनी सबैभन्दा सिनियरमा पर्छन् । नेपालले समग्रमा तेस्रो तथा लगातार दोस्रोपटक विश्वकपमा स्थान सुरक्षित गर्दा उनी प्रमुख खेलाडीका रूपमा रहे । पहिलो संस्करणमा सोमपालले तीन खेलमा चार विकेट लिँदा कुल नौ ओभर बलिङ गरेका थिए । 

गत संस्करणमा उनले तीन खेलमा प्रतिस्पर्धा गरेका थिए । उनले समग्रमा आठ ओभर बलिङ गरी ५४ रन खर्चेर तीन विकेट हात पारेका थिए । विश्वकपमा उनले सात विकेट हात पारेका छन् । फास्ट बलर सोमपालले सन् २०१४ मा हङकङविरुद्ध टी–२० आईमा डेब्यु गरेका थिए । नेपाली टोलीबाट उनले ८६ टी–२० आईमा बलिङ गर्दै ८१ विकेट हात पारेका छन् । ब्याटिङ क्रममा उनले ५१ इनिङ्समा तीन सय ६५ रन जोडेका छन् । ब्याटिङमा उनको स्ट्राइक १११.६२ रहेको छ । अहिलेसम्म ९९ टी–२० फ्रेन्चाइजमा उनले तीन सय ८२ रन तथा ९४ विकेट हात पारेका छन् ।

१० खेलाडी दोस्रोपटक विश्वकप खेल्दै
क्यानले विश्वकपका लागि १५ सदस्यीय टोली घोषणा गर्दा १० जना खेलाडीले लगातार दोस्रोपटक विश्वकप खेल्दै छन् । सन् २०२४ को टी–२० विश्वकप खेलेका रोहित, आसिफ, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले आगामी महिनामा हुने विश्वकपमा सहभागी हुँदै छन् । अमेरिका र वेस्ट इन्डिजले आयोजना गरेको विश्वकपमा खेलेका अनिल शाह, कुशल मल्ल, प्रतिश जिसी, कमलसिंह ऐरी, अविनाश बोहरा र सागर ढकालले भने स्थान बनाउन सकेनन् । रोहितको कप्तानीमा नेपालले दोस्रोपटक विश्वकप खेल्दा १० वर्ष प्रतिक्षा गर्नुपरेको थियो । सन् २०१४ पछि नेपाल एकैपटक सन् २०२४ मा मात्र विश्वकपमा स्थान बनायो । नेपाललाई आफ्नो कप्तानीमा लगातार दोस्रोपटक विश्वकप स्थान सुरक्षित गराउने रोहित पहिलो कप्तान हुन् । सन् २०१४ को विश्वकप खेल्दा नेपालका कप्तान पारस खड्का थिए । 

विनोद, आदिल र कुशल अटाएनन्
एनपिएलमा सुदूरपश्चिमलाई लगातार दोस्रोपटक फाइनल स्थान बनाउने क्रममा विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीसँगै आदिल मोहमद र कुशल मल्ल भने बाहिरिएका छन् । दोस्रो एनपिएलमा विनोद सर्वाधिक रन बनाउने सूचीको तेस्रो र नेपाली खेलाडीमध्ये दोस्रो भए । उनले नौ खेलमा दुई अर्धशतकीय सहयोगमा दुई सय ६४ रन जोडेका थिए । फाइनलमा उनी लुम्बिनी लायन्सविरुद्ध शून्य रनमा आउट भएका थिए । एनपिएलमा प्रदर्शन आधारमै विनोद प्रारम्भिक चरणमा छनोट भएका थिए । तर, उनले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गर्न सकेनन् । गत संस्करण खेलेका कुशल मल्ल पनि बाहिरिए । उनले दोस्रो एनपिएलमा सात खेलमा एक सय ३५ रन मात्र बनाएका थिए । राष्ट्रिय टोलीका अनभुवी खेलाडी कुशल भने पछिल्लो समयमा राम्रो लयमा छैनन् । उनले विश्वकप छनोटमा २२ रन बनाएका थिए । एनपिएलमा उनले एक विकेट मात्र लिएका थिए । काठमाडौंका मोहमदले आठ खेलमा सात इनिङ्स ब्याटिङ गरी ९३ रन जोड्दा एक अर्धशतकीय इनिङ्स खेले । आदिलले विश्वकप छनोटदेखि एनपिएलसम्म गतिलो प्रदर्शन गर्न सकेनन् । 

नेपाली टोली
रोहित पौडेल (कप्तान) र उपकप्तान दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम । 
 

सुझावित समाचार