ग्रिनल्यान्डमाथि अमेरिकाले आक्रमण गरे नेटोको अन्त्य हुने डेनिस प्रधानमन्त्रीको चेतावनी

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने धम्की दिएपछि डेनमार्ककी प्रधानमन्त्री मेट फ्रेडरिक्सनले नेटो सहयोगीमाथि अमेरिकाले आक्रमण गरे सो सैन्य गठबन्धन र ‘दोस्रो विश्वयुद्धपछि स्थापित सुरक्षा व्यवस्था’ दुवैको अन्त्य हुने चेतावनी दिएकी छिन् ।

भर्खरै भेनेजुएलामाथि सफल सैन्य कारबाही गरेर उत्साही अमेरिकी राष्ट्रपतिले आइतबार अमेरिकालाई ग्रिनल्यान्ड ‘एकदम’ आवश्यक भएको दोहोर्याए । हाल स्वायत्त शासन रहेको ग्रिनल्यान्डमा कुनै समय डेनमार्कको उपनिवेश थियो । अहिले पनि सो टापुको विदेश तथा सुरक्षा नीति अझै डेनमार्कले हेर्ने गरेको छ । 

युरोप र उत्तरी अमेरिकी महादेशबिच रहेको ग्रिनल्यान्डको रणनीतिक अवस्थितिका कारण यहाँ पहिलेदेखि अमेरिकी ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली राखिएको छ । त्यसबाहेक यस टापुमा दुर्लभ खनिजको ठुलो स्रोत रहेको अनुसन्धानले देखाएको छ । हाल विश्व बजारमा दुर्लभ खनिजमा चीनको प्रभुत्वको विकल्प खोजिरहेको वासिंटनका लागि यो खनिज पनि सो टापु चाहनुको कारण बनेको छ । उता स्वयत्त गिनल्यान्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले ट्रम्पलाई ‘विलयको स्वेरकल्पना’ परित्याग गर्न आग्रह गर्दै भने, ‘साथीहरूबिच धम्की, दबाब र विलयजस्ता कुराको कुनै स्थान हुनुहुँदैन ।’ उता अमेरिकी राष्ट्रपतिले चढ्ने विमान ‘एयर फोर्स वन’मा पत्रकारसँग बोल्ने क्रममा ट्रम्पले ग्रिनल्यान्डमाथि आगामी ‘२० दिनभित्रै’ निर्णय लिने बताए ।

उता पहिलेदेखि ग्रिनल्यान्डलाई डेनमार्कबाट पूर्ण रूपले स्वतन्त्र बनाउनुपर्ने अभियान चलाइरहेको ग्रिनल्यान्डको विपक्षी दल नालेराकका नेता पेले ब्रोबर्गले भने ट्रम्पको टिप्पणीप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । ‘भोलिका दिन हामी स्वतन्त्र हुन चाह्यौँ भने अमेरिकाले ग्रिनल्यान्डलाई स्वतन्त्र राष्ट्रको रूपमा जोगाउनेछ भन्नेमा म पूर्ण विश्वस्त छु,’ ब्रोबर्गले भने । उनले ग्रिनल्यान्ड सरकारले ट्रम्प प्रशासनसँग वार्ता गर्नुपर्ने बताएका छन् । ‘मानिलिऊँ अमेरिकाले लिइहाल्यो भने पनि उसले हामीलाई डेनमार्कले पहिले नै नगरेको केही गर्न सक्दैन,’ ब्रोबर्गले भने । 

उता डेनमार्कका नर्डिक छिमेकी स्विडेन, नर्वे र फिनल्यान्ड सबैले डेनमार्कप्रति आफ्नो समर्थन व्यक्त गरेका छन् । त्यस्तै बेलायत र जर्मनीजस्ता अन्य युरोपेली सहयोगीले पनि ग्रिनल्यान्डको भविष्य यसका जनताको हातमा रहेको कुरामा जोड दिएका छन् ।

सुझावित समाचार