प्रत्यक्षतर्फ रास्वपाको उम्मेदवार बन्न तीन सयभन्दा बढीको आवेदन, चार दिन समय थप

बुधबार, २३ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारका लागि आवेदन दिने समय चार दिन थपेको छ । मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले २६ पुससम्म समय थपेको प्रवक्ता मनीष झाले बताए । उनका अनुसार २२ पुस बेलुकासम्म प्रत्यक्षतर्फ उम्मेदवार बन्न तीन सयभन्दा बढीको आवेदन प्राप्त भएको छ ।

रास्वपाले २१ मंसिरमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेलाई २५ हजार रुपैयाँ तिरेर अनलाइन आवेदन दिन आह्वान गरेको थियो । मंगलबारसम्म समय तोकिएकोमा एकता प्रक्रियाबाट आएकालाई पनि समेट्न चार दिन थपिएको हो । उम्मेदवारका लागि सार्वजनिक आह्वान गरेको रास्वपाले प्राइमरी इलेक्सन, लिडरसिप एकेडेमी र पोलिटिकल प्रोक्जिमिटी चरणबाट छनोट गर्दै आएको छ । उम्मेदवार चयन गर्ने प्रक्रियामा ५० प्रतिशत मतभार प्राइमरी इलेक्सन, १० प्रतिशत प्रदेश तहबाट दिइने मतभार र बाँकी ४० अंक केन्द्रीय सचिवालयले कार्यसम्पादन मूल्यांकनका आधारमा दिने गरिन्छ ।

यसअघि समानुपातिकतर्फ उम्मेदवार बन्न रास्वपामा ५० हजार रुपैयाँ तिरेर ४१८ जनाले आवेदन थिए । जसमध्ये योग्य ३८५ आवेदकले छनोट प्रक्रियामा भाग लिएका थिए । तर, यहीबिचमा बालेन र कुलमान समूहसँग एकता गरेर उनीहरूलाई पनि समावेश गर्नुपर्दा छनोट प्रक्रिया पार गरेका सबैजना उम्मेदवार बन्न पाएनन् । 

प्रत्यक्षतर्फ उम्मेदवार छान्न उपसमिति 
रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार छान्न १९ पुसमै उपसमिति गठन गरिसकेको छ । चुनावमा योग्य उम्मेदवार छनोटको प्रत्याभूतिका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गरिएको प्रवक्ता झाले बताए । उनका अनुसार उपसमितिलाई योग्य उम्मेदवार एवं छनोट प्रक्रियासमेतको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । उपसमितिको सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्नेछ । ६ माघमा तोकिएको उम्मेदवारी दाखिलाको अघिल्लो दिनसम्म उपसमितिले उम्मेदवार टुंग्याउनेछ । निर्वाचनको तयारीअन्तर्गत रास्वपाले निर्वाचन परिचालन समिति गठन, समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि, निर्माण, निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि निर्माण र स्थानीय तह उम्मेदवार क्लब गठनको गृहकार्य गरिरहेको छ । 

पाँच केन्द्रीय सदस्यले लिए शपथ
बालेन समूहबाट केन्द्रीय सदस्य बनेका २६ मध्ये पाँचजनाले सभापति रवि लामिछानेबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । ‘विभिन्न कारण अस्ति उपस्थित हुन नसकेका केन्द्रीय सदस्यहरूको शपथग्रहण केन्द्रीय कार्यालय वनस्थलीमा भएको छ । पार्टी सभापति रवि लामिछानेले शपथग्रहण गराउनुभयो,’ प्रवक्ता झाले भने । १९ पुसमा केन्द्रीय सदस्य मनोनीत भएका रामकुमार ढुंगाना, सरिता ज्ञवाली, लक्ष्मी बर्देवा, शिवशंकर यादव र मधुसूदन ढकालले शपथ लिएका हुन् । 

See More On

सुझावित समाचार