महोत्तरीमा ३४ हजार २५२ मतदाता थपिएका छन्। ०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ तीन लाख ९७ हजार ३० मतदाता रहेकोमा अहिले ३४ हजार २५२ थपिएर चार लाख ३१ हजार २८२ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालयले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई लाख ३५ हजार १८३ पुरुष, एक लाख ९२ हजार ९७ महिला र अन्य २ गरी कुल चार लाख ३१ हजार २८२ मतदाताले मत खसाल्न पाउने जनाएको छ।
महोत्तरीमा चार निर्वाचन क्षेत्र रहेका छन्। चार निर्वाचन क्षेत्रमा २५८ मतदानस्थल र ५३६ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय महोत्तरकिा प्रमुख रंजिता झाले बताइन्।
महोत्तरीको क्षेत्र नम्बर १ मा ५६ हजार २२२ पुरुष, ४९ हजार ७२२ महिला र अन्य दुई गरी कुल एक लाख पाँच हजार ६४६ मतदाता रहेका छन्। उनीहरूलाई मतदान गर्न ५९ मतदानस्थल र १२० मतदान केन्द्र व्यवस्था गरिएको छ। क्षेत्र नम्बर २ मा ५८ हजार ८६१ पुरुष र ४८ हजार ७३३ महिला गरी कुल एक लाख सात हजार ५९४ मतदाता रहेकोमा उनीहरूका लागि ६२ मतदानस्थल तथा १३३ मतदान केन्द्र निर्धारण गरिएको छ।
यस्तै, क्षेत्र नम्बर ३ मा ५९ हजार ९५० पुरुष तथा ५० हजार ८८६ महिला गरी कुल एक लाख १० जार ४३६ मतदाता रहेका छन्। यहाँ ७७ मतदानस्थल र १४२ मतदान केन्द्र राखिएको छ। क्षेत्र नम्बर ४ मा ६० हजार १५० पुरुष र ४७ हजार ७५६ महिला गरी कुल एक लाख ७ हजार ६०६ मतादाता रहेकोमा ६० मतदानस्थल १३१ मतदान केन्द्र निर्धारण गरेको जिल्ला निर्वाचन कार्यालय प्रमुख झाले बताइन्।
महोत्तरीको १६३ मतदानस्थललाई अतिसंवेदनशील, ८९ लाई संवेदनशील र ६ लाई सामान्य सुरक्षा अवस्थाको सूचीमा राखिएको छ।