धादिङमा माछा मार्न गएका व्यक्तिको शव फेला

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

धादिङको सिद्धलेक गाउँपालिका–१, बैरेनीस्थित थोपल खोलामा एकजना पुरुषको शव फेला परेको छ। थोपल खोलामा डुबिरहेको अवस्थामा मंगलबार दिउँसो बैरेनीका ४० वर्षीय नन्दबहादुर नेपालीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार नन्दबहादुर थोपल खोलामा आइतबार राति माछा मार्न गएका थिए। छरछिमेकी, साथीभाइ र उनका छोरासहित ९ जना करेन्ट लगाएर माछा मार्न जाने क्रममा नेपालीलाई करेन्ट लागेर ज्यान गएको प्रारम्भिक अनुसन्धानले देखाएको उनले बताए।

सशस्त्र प्रहरी बल नेपालको पहलमा नेपाल विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनबाट खटिएको गोताखोर टोलीले करेन्ट लागेर बेपत्ता बनेका नन्दबहादुरको शव मंगलबार दिउँसो साढे २ बजे घटनास्थलभन्दा करिब एक सय मिटर तलबाट डुबिरहेको अवस्थामा निकालेको हो।

मृतककी छोरी सन्ध्या नेपालीले भने आफैँ करेन्ट लागेर नभई अरूले करेन्ट लगाइदिएर ज्यान लिएको दाबी गर्छिन्। सँगै माछा मार्न गएकाहरू फर्किनु र नन्दबहादुर बेपत्ता हुनु शंकास्पद रहेको उनको तर्क छ।

घटना शंकास्पद रहेकाले सँगै माछा मार्न गएका अन्य सातजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताए।

सुझावित समाचार