सहसचिव प्रदीप परियारसहितलाई विशेष अदालतको सफाइ

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

भ्रष्टाचार मुद्दामा सहसचिव प्रदीप परियारसहितले सफाइ पाएका छन्। काठमाडौं महानगरपालिकाको एक ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २८ जेठमा दायर गरेको मुद्दामा फैसला सुनाउँदै विशेष अदालतले सबैलाई सफाइ दिने फैसला गरेको हो। 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले मंगलबार सफाइ दिएको हो। बोलपत्र स्वीकृत गर्दा बदनियत मान्न सकिने प्रस्ट आधार नभएको भन्दै विशेषले सफाइ दिएको हो। 

सामाखुसी करिडोरमा बसुन्धारादेखि म्हैपीसम्मको बाटो तथा ढल निर्माण सम्बन्धमा बदनियत राखेर ठेक्का लगाएको र मनसायपूर्वक गलत मूल्यांकन प्रतिवेदन खडा गरी सार्वजनिक सम्पत्तिको हानि-नोक्सानी गरेको अख्तियारको अभियोग थियो। महानगरले कल्पवृक्ष–कोहिनूर जेभीलाई बोलपत्र स्वीकृत गरेर ठेक्का दिएको थियो। 

चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको भन्दै अख्तियारले मुद्दा चलाएको थियो । यस मुद्दामा परियारसहित महानगरपालिकाका निर्देशकहरू रविनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरी प्रतिवादी  रहेकोमा सबैले सफाइ पाएका हुन्। 

सुझावित समाचार