उदयपुरमा सामुदायिक वनको अध्यक्षसहित चारविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण

मिलेमतोमा वन उपभोक्ता समूहको कोषको रकम हिनामिना गरेको अभियोगमा अख्तियारले उदयपुरको त्रियुगा नगरपालिका–१ स्थित जागृति महिला सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वन उपभोक्ता समूहको भवन निर्माणलगायतका कामका क्रममा सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समूहकी तत्कालीन अध्यक्ष मीनाकुमारी चौधरी, सचिव जानकीकुमारी चौधरी, कोषाध्यक्ष निलम चौधरी थारू र लेखा परीक्षक तनुकलाल चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले विभिन्न कामकाे बढी खर्चका बिल भरपाई तथा हुँदै नभएको काम देखाई कुल पाँच लाख १५ हजार ३०२ रुपैयाँ हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

उनीहरूले सामुदायिक वनको भवन निर्माणमा ३ लाख १३ हजार २०१ रुपैयाँ, वन पैदावार संकलन खर्चका नाममा १ लाख १६ हजार ७८१ रुपैयाँ, ग्यास सिलिन्डर वितरणका नाममा ७ हजार ७२० रुपैयाँ र हुँदै नभएको सडक ग्राभेलको नाममा ७७ हजार ६०० रुपैयाँ हिनामिना गरेकाे अख्तियारकाे आराेप छ।

सुझावित समाचार