मदुरोमाथिको कारबाहीमा नोरिएगा प्रकरणको छाया

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण
  • मदुरोलाई जस्तै पानामाका सैन्य तानासाह नोरिएगालाई पनि लागुपदार्थ तस्करी सहजीकरण गरेको आरोप लगाइएको थियो

तीन दशकअघि अमेरिकी सरकारले एकजना अर्का विदेशी नेतालाई गिरफ्तार गरेको थियो । अभियोजक, प्रतिरक्षा वकिल र न्यायाधीशहरूका लागि पानामाका सैन्य तानासाह राष्ट्रपति म्यानुएल नोरिएगाको अचानकको गिरफ्तारीपछि चलेको मुद्दा भेनेजुएलाका नेता निकोलस मदुरोविरुद्धको मुद्दामा मार्गदर्शक हुनेछ ।

मदुरोजस्तै, नोरिएगालाई संयुक्त राज्य अमेरिकामा लागुपदार्थ तस्करीमा संलग्न भएको आरोप लगाइएको थियो । र, नोरिएगालाई पनि अमेरिकाले विशेष सैन्य अप्रेसनमार्फत उनको देशबाटै पक्राउ गरेर अमेरिका लगेको थियो । पक्राउलगत्तै नोरिएगाका वकिल उनको प्रतिरक्षामा सक्रिय भएका थिए । नोरिएगाका वकिलले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्ल्यू बुसको न्याय मन्त्रालयले पानामामाथि आक्रमण गरेर पक्राउ गर्नु आफैँमा अन्तर्राष्ट्रिय कानुन र उचित प्रक्रियाको उल्लंघन भएको आरोप लगाएका थिए । नोरिएगा एक देशको राष्ट्र प्रमुख भएकाले उनले कानुनी उन्मुक्ति पाउने दाबीसमेत गरिएको थियो । नोरिएगालाई जस्तै मदुरोलाई पनि ‘राज्य प्रायोजित आपराधिक गिरोह’ सञ्चालन गरेको र भेनेजुएलाबाट लागुपदार्थ तस्करलाई सहजीकरण गरेको आरोप लगाएको छ । ‘मदुरोका वकिलहरूले पनि नोरिएगाका वकिलले विगतमा प्रयास गरेजस्तै रणनीति अपनाउने सम्भावना छ,’ जर्जटाउन युनिभर्सिटी ल सेन्टरका प्राध्यापक स्टिभ भ्लाडेकले भने । यसपटक मदुरोको मुद्दामा सम्भवत: ‘संवैधानिक र अन्तर्राष्ट्रिय कानुनका नयाँ–नयाँ तर्क’ समावेश हुनेछन् । यसपटक निकै उच्च–प्रोफाइल बनाएका शीर्ष आपराधिक प्रतिरक्षा वकिल मदुरोको प्रतिरक्षामा संलग्न हुन सक्ने वरिष्ठ कानुनी विश्लेषक एली होनिङले बताए । ‘अहिलेसम्म नदेखिएको स्तरको ठुलो कानुनी लडाइँ हुँदै छ,’ एली होनिङले भने । 

नोरिएगाको प्रतिरक्षा समूहको तर्क अन्तत: असफल भएको थियो । सन् १९९१ मा उनलाई दोषी ठहर गर्दै ४० वर्षको जेल सजाय सुनाइयो । (पछि एकजना संघीय न्यायाधीशले नोरिएगा युद्धबन्दी भएको ठहर गर्दै जेलमा उनलाई केही अधिकार प्रदान गरिनुपर्ने फैसला गरे । तर, अमेरिकामा न्यायाधीशले कैदीलाई सुविधा दिनेबारे फैसला गर्न सके पनि कुन जेलमा कस्तो सुविधा दिने भनेर फैसला गर्न सक्दैनन् ।)

‘नोरिएगाको प्रतिरक्षा असफल हुनुको मुख्य कारण अमेरिकी अदालतले नोरिएगालाई पक्रन पानामामाथि अमेरिकाले आक्रमण गरेको भन्ने दलिलको वैधतालाई नै अस्वीकार गरेको थियो,’ लिबरटारियन थिंक–ट्यांक क्याटो इन्स्टिच्युट’मा आबद्ध क्लार्क निलीले शनिबार एक लेख लेख्दै औँल्याए,’ संघीय अदालतले प्रतिवादीलाई अमेरिकी अदालतसम्म ल्याउन बल प्रयोग गर्नु र विदेशी भूमिबाट नियन्त्रणमा लिनुले पनि उनीमाथिको अपराध क्षम्य नहुने ठहर गरेको थियो ।’ यदि मदुरोले पनि आफूलाई अवैध रूपमा अमेरिका ल्याइएको तर्क गर्ने प्रयास गरे भने उनीविरुद्ध मुद्दा लाग्ने नजिर नोरिएगाकै प्रकरण छ । अर्थात्, कुनै व्यक्तिलाई अमेरिका ल्याउन गैरकानुनी मार्ग प्रयोग गरिएको भए पनि ती व्यक्तिमाथिको अपराधमा अनुसन्धान हुन रोकिनेछैन । 

यदि मदुरोको गिरफ्तारीलाई जायज ठहर्याउन दबाब दिइयो भने अभियोजकहरूले न्याय मन्त्रालयको कानुनी सल्लाहकार कार्यालयका विलियम बारको १९८९ को ज्ञापनपत्रलाई औँल्याउन सक्छन् । त्यसमा राष्ट्रपतिसँग विदेशी देशका मानिसलाई हिरासतमा लिन एफबिआईलाई आदेश दिन सक्ने ‘संवैधानिक अधिकार’ रहेको दाबी गरिएको छ, भलै त्यस क्रममा अन्तर्राष्ट्रिय कानुन उल्लंघन नै किन नहोस् । बार पछि गएर बुस प्रशासन र ट्रम्पको पहिलो प्रशासनमा महान्यायाधिवक्ता बनेका थिए । उनको ज्ञापनपत्र कानुनी विद्वान्माझ भने विवादास्पद बनेको थियो । ‘अभियोजकहरूलाई सबैभन्दा कठिन तर्क मदुरो भेनेजुएलाको ‘राज्य प्रमुख’ भएको कारणले उन्मुक्तिका लायक छन् वा उनलाई लागेका अपराध सबै सरकारी अधिकारबाटै सञ्चालन गरिएका आधिकारिक कार्यबाट उत्पन्न भएको हो भन्ने हुन्छ,’ भ्लाडेकले भने । 

नोरिएगाको मुद्दामा अदालतले केही ढिलो गरी कार्यकारी निकायको निर्णयलाई सदर गर्दै नोरिएगा उन्मुक्तिको हकदार नभएको निर्णय गरेको थियो । ‘आरोपित कार्य स्पष्ट रूपमा आपराधिक’ भएकाले नोरिएगालाई उन्मुक्त गर्न नसकिने बताएको थियो । तथापि, त्यस वेलाको मुद्दा र मदुरोको मुद्दामा एउटा महत्वपूर्ण भिन्नता रहेको छ । त्यो हो, अमेरिकाको विदेश मन्त्रालयले नोरिएगालाई पानामाको राष्ट्र प्रमुख मान्न अस्वीकार गरेको थियो । नोरिएगाले कठपुतली राष्ट्रपति बनाएर विनाकुनै पद सैन्य तानासाही चलाएका थिए । तर, मदुरोको राष्ट्रपति हैसियतका कारण अदालतले नोरिएगाको नजिरमाथि पुनर्विचार गर्ला या नगर्ला, स्पष्ट छैन । तर, न्याय मन्त्रालयद्वारा शनिबार खोलिएको अभियोगपत्रमा उनलाई भेनेजुएलाका ‘वास्तविक तर अवैध शासक’ भनेर उल्लेख गरेको छ । विशेषत: मदुरोको मुद्दाका सन्दर्भमा आगामी अभियोजन पहिले नै तय भएको मुद्दा नभएको भ्लाडेकले निष्कर्ष निकाले ।

(होम्स सिएनएनका रिपोर्टर हुन् भने हाना सिएनएनका लागि न्याय मन्त्रालयको रिपोर्टिङ गर्छन्)
सिएनएनबाट

सुझावित समाचार