विश्वकप ट्रफी प्रदर्शनी हुने

मंगलबार, २२ पुष, २०८२
डिजिटल संस्करण
विश्वकप ट्रफी प्रदर्शनी हुने

शीतलनिवासमा सोमबार टी–२० विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

आइसिसी पुरुष टी–२० विश्वकप २०२६ ट्रफी टुर नेपालमा सुरु भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ट्रफी २१ देखि २३ पुससम्म नेपाल ट्रफी टुर रहनेछ । मंगलबार बिहान पोखरामा ट्रफी टुर हुने क्यानले जनाएको छ । त्यसपछि मंगलबार दिउँसै वसन्तपुर दरबार क्षेत्रमा ट्रफी राखिनेछ भने बुधबार बौद्धनाथ स्तुपा परिसरमा ट्रफी प्रदर्शनी कार्यक्रम रहने क्यानले जनाएको छ । 

यसैबिच, राष्ट्रपति भवन शीतलनिवासमा सोमबार टी–२० विश्वकप ट्रफीको सार्वजनिक राष्ट्रपति रामचन्द्र पौडेलले गरेका छन् । त्यसपछि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलले संयुक्त रूपमा ट्रफी प्रदर्शनी गरेका हुन् । भारत र श्रीलंकाले संयुक्त रूपमा आगामी २४ माघदेखि आइसिसी टी–२० विश्वकप प्रतियोगिता आयोजना गर्दै छन् ।

आइसिसीले विश्वकपअघि भारत र श्रीलंकासहित कतार, ओमान, नेपाल, बहराइन र मंगोलियामा टी–२० विश्वकपको ट्रफी प्रदर्शनमा राख्ने कार्यक्रम बनाएको छ । आइसिसीले नजिकबाट क्रिकेट समीक्षकहरूले विश्वकप ट्रफी अवलोकन गर्न पाउने रूपमा टुर आयोजना गरिएको जनाएको छ । यसपटक १०औँ टी–२० विश्वकपमा सर्वाधिक २० राष्ट्रले भाग लिनेछन् । २९ दिनसम्म चल्ने विश्वकपमा भारतले पाँच र श्रीलंकाले तीन रंगशालामा प्रतियोगिता आयोजना गर्नेछ । 

नेपालले तेस्रो अवसरमा आइसिसी टी–२० विश्वकप खेल्दै छ । सन् २०१४ र ०२४ मा नेपालले विश्वकप खेलेको थियो । नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो । नेपाल समूह ‘सी’मा रहेको छ । 

कठिन समूहमा रहेको नेपालले पूर्वविजेता इंग्ल्यान्ड र वेस्ट इन्डिजविरुद्ध खेल्नेछ । इंग्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपटक विश्वकप जितेका छन् । नेपालले बंगलादेश र इटाली पनि खेल्नेछ । विश्वकपमा पहिलोपटक युरोपबाट इटालीले स्थान बनाएको हो । युरोपियन छनोटमा इटालीले बलियो एसोसिएट राष्ट्र स्कटल्यान्डलाई स्तब्ध पार्दै विश्वकपमा स्थान बनाएको हो । लगातार तेस्रोपटक विश्वकपमा सहभागी भएको नेपालले पहिलो खेल इंग्ल्यान्डसँग २५ माघमा खेल्नेछ । 

नेपालको आधिकारिक जर्सी सार्वजनिक
आइसिसी पुरुष टी–२० विश्वकपमा नेपाली खेलाडीहरूले लगाउने आधिकारिक जर्सी सोमबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । आयोजक क्यानले पुरुषसँगै आसन्न टी–२० महिला विश्वकपको ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने महिला टोलीका समेत जर्सी सर्वाजनिक गरेको हो । सिनियर पुरुष टोलीका कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी तथा महिला टोलीकी कप्तान इन्दु बर्माले जर्सी सार्वजनिक गरेको क्यानले जनाएको छ ।

सुझावित समाचार