बालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले काभ्रेपलाञ्चोक पनौती नगरपालिका १ घर भई जिल्ला ललितपुरको गोदावरी नगरपालिका १ बस्ने वर्ष २६ को राजन तामाङ र दोलखाको मेलुङ गाउँपालिका ६ घर भई काठमाडौं, लोलाङ बस्ने वर्ष ३४ को लक्ष्मण तामाङलाई पक्राउ गरेको हो।
उनीहरुले महानगरपालिका–२६ संचयकोष चोक नजिक सडक खण्डमा बा. २ ज २३२७ नं. को ट्याक्सीमा शंकास्पद तवरले २ जना बालिकाहरूलाई राखी लिएर जान लागेको अवस्थामा बालिकाका उद्धार गरेको थियो । ट्याक्सी भित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान प्रदान तथा रकमको विषयमा सौदाबाजीसमेत गरेको र महिला तथा बालबालिकाहरूलाई ललाई फकाई यौनजन्य क्रियाकलापमा संलग्न गराउने गरेको देखिएकोले उनीहरूलाई पक्राउ गरी अभद्र व्यवहार कसूर र मानव बेचबिखन तथा ओसारपसार कसूर उपर अनुसन्धान भइरहेको एसपी पवन भट्टराईले बताए।