मुगुमा सेनाको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

नाग्म–गमगढी सडक खण्डको आलादुना खोलानजिकै नेपाली सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक सैनिक जवानको मृत्यु भएको छ। हनुमानध्वज गुल्म रारादेखि भुलभुलेसम्म सैनिक टोली पुर्याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो।

हनुमान ध्वज गुल्म हुटु राराबाट सेनाको टोलीलाई बुल्बुले पोस्टमा पुर्याएर  फर्किने क्रममा आइतबार बेलुकी सेनाको ना १ झ १०३९ नम्बरको बोलेरो जिप छायानाथ रारा नगरपालिका–७, पिनागाउँनजिकै आलादुना खोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए। जिप सडकभन्दा दुई सय मिटर तल खसेको थियो।

मृत्यु हुनेमा जिप चालक बैतडीको पाटन नगरपालिका–४, बागाडी स्थायी घर भइ हमुमानध्वज गुल्म हुटु रारामा कार्यरत अमल्दार हरिसिंह ऐरी रहेका छ्न्।

आइतबार बेलुकी अन्दाजी ७ बजेतिर दुर्घटना भएको अनुमान गरिए पनि प्रहरी चौकी पिनामा राती १० बजेर २० मिनेटमा खबर प्राप्त भएको प्रहरीले जनाएको छ। खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ गएको थियो।

घाइतेलाई रातिको करिब १२ः२० बजेको समयमा बोल्न नसक्ने अवस्थामा उद्दार गरी जिल्ला अस्पताल मुगु पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रनाउ थपलियाको भनाइ छ। मृतकको शव जिल्ला अस्पताल मुगुमा पोस्टमार्टम गरी नेपाली सेनाको हेलिकोप्टरबाट बैतडी पठाइसकिएको उनले बताए।

सुझावित समाचार