एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ को सचिवालय उद्घाटन भएको छ । सोमबार ‘म्याजेस्टिक लेक फ्रन्ट’मा २२औँ संस्करणको अवार्डका लागि सचिवालय स्थापनासहित उद्घाटनमा आएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थाको सहभागिता रहेको थियो ।
प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलोपटक काठमाडौंबाहिर हुन लागेको अवार्ड भव्य रूपमा सफल पार्न शुभकामना दिएका छन् । ‘पहिलोपटक एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड काठमाडौंबाहिर हुँदै छ । यो अवार्ड भव्य रूपमा सम्पन्न गर्न शुभकामना छ,’ अर्यालले भने ।
काठमाडौंबाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्द्धकका रूपमा छ । एनएसजेएफले स्पोर्टस् अवार्डसँगै स्पोर्टस् समिटको पनि आयोजना गर्दै छ । उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ ।
अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोर्टस् अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।
एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्टस् जर्नालिस्ट अवार्ड रहेका छन् ।
खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ । मनोनयनमा परेका खेलाडी विजय सिँजाली (उसु), इभाना थापा (टेबलटेनिस), हिमाल सुनारी (भलिबल), पूजा महतो (क्रिकेट) र रेखा पौडेल (फुटबल)का लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आइएमई एपमार्फत भोटिङ भइरहेको छ ।