ललितपुरका सीमित विद्यालयमा मात्रै विद्यालय नर्स कार्यक्रम राखिएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार नर्स राख्नयोग्य ५४ विद्यालयमध्ये ४५ वटामा मात्रै नर्स छन् । अन्य नौवटा विद्यालयमा लागू हुन सकेको छैन ।
विद्यालय नर्स कार्यक्रम लागू भएका विद्यालयमा पनि विद्यार्थी संख्या कम भएको, विद्यार्थीलाई खाजा र स्वच्छ खानेपानीको अभाव देखिएको छ । बागमती गाउँपालिकास्थित जनक माध्यमिक विद्यालयमा कार्यरत नर्स धना विष्टले विद्यालयमा नर्स कार्यक्रम लागू भए पनि खानेपानीको समस्या रहेको र विद्यालयमा खाजा पनि वितरण नभएको बताइन् । उनले दिवा खाजा नहुँदा विद्यार्थीले जंकफुड खाने गरेको जनाउँदै विद्यालयमा क्यान्टिन सञ्चालन गर्न आवश्यक रहेको बताइन् । ‘हामीकहाँ विद्यार्थी कम छन्, तर उनीहरूका निम्ति पर्याप्त पानी र खाजा खान क्यान्टिन छैन । उनीहरूको स्वास्थ्य अवस्था समय–समयमा जाँच गर्छु, तर सेवा–सुविधा नहुँदा समस्या हुने गरेको छ,’ उनले भनिन् ।
बागमती गाउँपालिकाकै शारदा शिक्षा सदनकी नर्स यशोदा कुसवाहले पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यालय नर्स कार्यक्रम लागू भए पनि भौतिक संरचना, खाजा कार्यक्रम, सरसफाइका कार्यक्रम प्रभावकारी हुन नसकेको बताइन् ।
हाल जिल्लाका ६ वटा पालिकाका ५४ वटामा मात्रै विद्यालय नर्स कार्यक्रम लागू भएको छ । जनशक्ति नहुँदा सबै विद्यालयमा यो कार्यक्रम लागू हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । ‘विद्यालय नर्स कार्यक्रम लागू गर्न सरकारले मापदण्ड बनाएको छ, मापदण्डमा परेका ललितपुरका ५४ विद्यालयमा नर्स कार्यक्रम लागू भए पनि हाल ४५ वटामा मात्रै छन्, अन्यमा नर्स राख्न पहल गरिरहेका छौँ,’ उनले भने, ‘यो कार्यक्रम लागू गर्न तीन सयभन्दा बढी विद्यार्थी हुनुपर्ने, ग्रामीण र पिछडिएको क्षेत्र हुनुपर्नेलगायत मापदण्ड छन् ।’
गेलालका अनुसार बागमती प्रदेश सरकारले ०७५/७६ देखि यो कार्यक्रम २० वटा विद्यालयबाट लागू गरेको थियो । तर, नर्सहरूको बढ्दो पलायनले विद्यालय नर्स कार्यक्रम लागू गरिएका विद्यालयमा समेत नर्स राख्न नसकिएको उनको भनाइ छ । हाल बागमती प्रदेशका ८८० विद्यालयमा यो कार्यक्रम लागू छ । विद्यालय नर्स कार्यक्रम लागू गरिएका विद्यालयमा बालबालिकामा हुने रोगका समस्या पहिचान गर्न, उनीहरूको स्वास्थ्य तथा शारीरिक वृद्धि विकासबारे जान्न मद्दत पुगेको छ । कतिपय विद्यालय बालबालिकामा हुने स्वास्थ्य समस्यासमेत विद्यालय नर्सले पहिचान गर्ने गरेका छन् । बालबालिकाको स्वस्थ जीवनका लागि विद्यालय नर्स कार्यक्रम महत्वपूर्ण हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गेलालले बताए । उनले जहाँ–जहाँ विद्यालय नर्स राखिएका छन्, त्यहाँ–त्यहाँका विद्यालय सफासुग्घर भएको, विद्यालयमा जंकफुड खुवाउने बानी हटेको, विद्यालयको क्यान्टिन सफा भएकोलगायत परिवर्तन देखिएको जानकारी दिए ।
ग्रामीण क्षेत्रका विद्यार्थीको स्वास्थ्य परीक्षण
जनस्वास्थ्य कार्यालयले विद्यालय नर्स कार्यक्रम लागू नभएका विद्यालयलाई लक्षित गरी ग्रामीण क्षेत्रका विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको छ । जनस्वास्थ्य कार्यालयले भट्टेडाँडास्थित महाकाली माविमा पुगेर जनस्वास्थ्यको टोलीले स्वास्थ्य परीक्षण गरेको जनस्वास्थ्य कार्यालय प्रमुख गेलालले बताए । उनका अनुसार विद्यालयमा पुगेर विद्यार्थीको दाँत, श्रवण शक्ति, मुटु, आँखालगायत परीक्षण गरिएको हो । विशेषज्ञ चिकित्सकसहित पुगेको टोलीले ११७ जना विद्यार्थीको स्वास्थ्य परीक्षण गरेको गेलालले बताए । ‘ग्रामीण क्षेत्रका स्कुलमा बालबालिकाको स्वास्थ्य कस्तो छ भनेर विद्यालयमै पुगेर परीक्षण गरेका छौँ, कतिपयको आँखा, मुटु र श्रवण शक्तिमा समस्या देखिएको छ, यसको विश्लेषण गरेर प्रतिवेदन तयार पार्छौँ, विद्यार्थीहरूको उपचारमा सहजीकरण गर्छौँ,’ उनले भने, ‘परीक्षणका क्रममा विद्यार्थीको इको पनि गरेका थियौँ ।’