नौलो होइन दक्षिण अमेरिकामा वासिङटनको हस्तक्षेप

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

भेनेजुएलामाथि अमेरिकी बमबारी र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिइएको घटनाले फेरि पछिल्लो दुई शताब्दीमा दक्षिण, मध्य अमेरिका र क्यारिबियनमा वासिङटनले गरेका हस्तक्षेपको लामो इतिहासलाई सम्झना गराएको छ । यसपटक दक्षिण अमेरिकी देश(क्यारिबियन तथा मध्य–अमेरिकाभन्दा तल्लो भेग)मा पहिलोपटक अमेरिकी सेनाले प्रत्यक्ष आक्रमण गरेको छ । मादुरोलाई अमेरिकी सेनाले कब्जामा लिएपछि आयोजित पत्रकार सम्मेलनमा, डोनाल्ड ट्रम्पले ‘पश्चिमी गोलार्धमा फेरि अमेरिकी प्रभुत्वप्रति कहिल्यै प्रश्न नगरिने’ दाबी गरे ।

तर, संयुक्त राज्य अमेरिकाको तल्लो भेगका देशमाथि वासिङटनको या पहिलो हस्तक्षेप भने होइन । १९औँ शताब्दीको मध्यदेखि नै अमेरिकाले आफ्ना महाद्वीपलाई छिमेकीमाथि आर्थिक दबाब मात्र नभई सैन्य रूपमा पनि हस्तक्षेप गर्दै आएको इतिहास छ । अमेरिकी गुप्तचर गतिविधि लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई ढाल्न प्रयोग भएको इतिहास छ । त्यस्तै अमेरिकाले ब्राजिल, चिली र अर्जेन्टिनाजस्ता देशहरूमा सैन्य तानाशाहीलाई स्थापित गर्न मद्दत गरेको थियो । भेनेजुएलामाथिको हस्तक्षेपअघि अमेरिकाले खुला सैन्य कारबाही भने मध्य–अमेरिका र क्यारिबियन क्षेत्रका देशमा मात्र सीमित गरेको थियो ।

अहिले दक्षिण अमेरिकी देशमा समेत प्रत्यक्ष सैन्य आक्रमण हुनुले अमेरिकाको ‘विदेश तथा रक्षा नीतिमा ठुलो परिवर्तन आएको संकेत गर्दछ । हुन त यसतर्फ केही हप्ताअघि ट्रम्प सरकारले ल्याएको नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले स्पष्ट पारिसकेको छ,’ रियो दी जेनेरियोको स्टेट युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक मौरिसियो सान्तोरोले भने ।सन् १८२३ मा तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मनरो ‘अमेरिकीहरूका लागि अमेरिका’ विदेश नीति अघि सारेका थिए, जसले सुरुमा अमेरिकी महादेशमा युद्धरत युरोपेली प्रभाव अस्वीकार्य हुने जो दिएकोमा पछि यसैलाई दक्षिण तथा मध्य–अमेरिकामा अमेरिका समर्थित सैन्य कुको औचित्य पुष्टि गर्न प्रयोग गरिन थालियो ।

‘शनिबार भेनेजुएलामा भएको अमेरिकी कारबाही विगतमा उसले चालेका विभिन्न अभियानसँग ‘मिल्ने’ भए पनि सन् १९८९ पछि यस्तो खालको कारबाही भएको थिएन,’ टेम्पल विश्वविद्यालयका इतिहासका प्राध्यापक एलन म्याकफर्सनले भनिन् । म्याकफर्सनले ल्याटिन अमेरिका तथा क्यारिबियनमा अमेरिकी हस्तक्षेप सम्बन्धमा ‘ए सर्ट हिस्ट्री अफ युएस’ पुस्तक पनि लेखेकी छिन् । यस क्षेत्रका लगभग हरेक देशले विगतका दशकमा कुनै न कुनै प्रकारको अमेरिकी हस्तक्षेप भोगेका छन्, जुन कहिले खुला र कहिले गोप्य हुन्छन् । 

मेक्सिको
हाल अमेरिकाको राज्य रहको टेक्सास पहिले मेक्सिकोको भूभाग थियो । यस क्षेत्रको सीमा विवाद उत्पन्न भए अमेरिकाले पूरै मेक्सिकोमाथि आक्रमण गरेको थियो । त्यस आक्रमणमा सन् १८४७ मा अमेरिकी सेना मेक्सिकोको राजधानी मेक्सिको सिटीसम्म पुगेर सो सहरसमेत कब्जा गर्ने अवस्थामा पुगेको थियो । तर, सन् १८४८ मा एक सन्धिमा हस्ताक्षर भएसँगै युद्ध समाप्त भयो । सन्धिअनुरूप मेक्सिकोले आफ्नो ५५ प्रतिशत भूभाग अमेरिकालाई सुम्पन बाध्य भयो । सोही सन्धिअनुरूप अहिलेका अमेरिकी राज्य क्यालिफोर्निया, नेभाडा र युटा राज्यको पूरै भूमि र एरिजोना, न्यू मेक्सिको, कोलोराडो र वायोमिङका केही भाग अमेरिकाले पाएको हो ।

क्युवा
सन् १८९८ मा क्युवाले स्पेनबाट स्वतन्त्र हुन लडेको युद्धमा अमेरिकाले क्युवालाई मद्दत गरेको थियो । त्यस युद्धमा विजय हासिल गरेपछि, अमेरिकाले पोर्टो रिकोमाथि नियन्त्रण प्राप्त गर्यो । पछि वासिङटनले स्पेनबाट स्वतन्त्र भएको क्युबामाथि समेत नियन्त्रण कायम गर्यो । त्यहीवेला भएको एक सम्झौताले क्युवाको एक टापू ग्वान्टानामो खाडीमा अमेरिकी नौसेनाको स्थायी कार्यालय बन्यो । सन् १९०२ मा पहिलोपटक क्युवालाई कब्जामा लिएको अमेरिकी सेनाले पछि १९०६ देखि १९०९ सम्म र फेरि १९१७ देखि १९२२ सम्म टापु कब्जा गर्यो । फिडेल क्यास्ट्रोको नेतृत्वमा उठेको क्रान्ति सन् १९५९ मा सफल भएपछि मात्र त्यस टापुमाथिको अमेरिकी नियन्त्रण अन्त्य भएको थियो । तर, सिआइएले फिडेललाई हटाउन विद्रोह उठाउने प्रयासमा सन् १९६१ मा असफल ‘बे अफ पिग्स’ आक्रमणलाई समर्थन गरेको थियो ।

हैटी
हैटीमा एकपछि अर्को नेता अपदस्थ भइरहेको अवस्थामा सो देशलाई ‘स्थिर’ बनाउने र अमेरिकी व्यावसायिक हितको रक्षा गर्ने बहानामा अमेरिकाले सन् १९१५ मा हैटीमाथि आक्रमण गर्यो । अमेरिकाले त्यसपछि लगातार सन् १९३४ सम्म भन्सार, वित्त र राष्ट्रिय बैंकको नियन्त्रणमा लिएको थियो । त्यहाँबाट बाहिरिएपछि पनि सन् १९५९ मा तानाशाह फ्रान्वा ‘पापा डक’ डुभालियरविरुद्ध जनविद्रोह बढ्ने डरबिच सिआइएले उनको अस्तित्व रक्षाका लागि पर्दापछाडिबाट सक्रिय रूपमा सघाएको थियो । अमेरिकाले त्यतिवेला डुभालियरलाई फिडेल क्यास्ट्रोको क्युबाली क्रान्तिको प्रभावलाई रोक्न सक्ने सहयोगीका रूपमा हेरेको थियो ।

ब्राजिल
अमेरिकाले ब्राजिलमाथि कहिल्यै पनि हस्तक्षेप गरेन । तर, उसले त्यहाँको सैन्य सरकारविरुद्ध प्रतिरोध उठे त्यसको रक्षार्थ सघाउन भन्दै ब्राजिलको तटनजिक लामो समय नौसैनिक दस्ता तैनाथ राखेको थियो । अमेरिकाले रक्षा गरिरहेको सैन्य सरकार सन् १९६४ मा लोकतान्त्रिक रूपमा निर्वाचित वामपन्थी राष्ट्रपति जोआओ गौलार्टलाई अपदस्थ गरेर आएको थियो । सन् १९७० को दशकमा, सिआइए र एफबिआईले ब्राजिल, चिली र अर्जेन्टिनाजस्ता देशहरूमा तानाशाहको दमन प्रभावकारी बनाउनसमेत सघाएको इतिहास छ ।

पानामा
सन् १९०३ मा पानामामा कोलम्बियाबाट अलग हुन पृथकतावादी आन्दोलन सुरु भएको थियो । अमेरिकाले पानामाको पक्षमा सैन्य रूपमै समर्थन जनायो । जब पानामा स्वतन्त्रता भयो तब त्यस देशमाथि वासिङटनको बलियो प्रभाव कायम भयो । सन् १९८९ मा, राष्ट्रपति जर्ज एचडब्लु बुसले पानामाका सैन्य तानाशाह म्यानुयल नोरिएगालाई पक्राउ गर्न लगभग २७,००० अमेरिकी सेनालाई पानामामाथि आक्रमणको आदेश दिएका थिए । 

कुनै वेला सिआइएसँग घनिष्ट रहेका नोरिएगालाई पछि अमेरिकामा ठुलो परिणाममा लागु पदार्थ तस्करी गरेको आरोप लगाइएको थियो । नोरिएगालाई पक्राउ गर्न भएको अेमरिकी कारबाहीमा अनुमानित २००–५०० नागरिक र लगभग ३०० पानामाली सैनिकहरू मारिएको थिए । त्यसपछि अमेरिकाले चुनावबाट गुइलेर्मो एंडारालाई राष्ट्रपतिको रूपमा स्थापित गर्यो । इतिहासकार म्याकफर्सनका अनुसार इतिहासमा अमेरिकी हस्तक्षेपहरूपछि एकदम विरलै मात्र ‘शान्ति, स्थायित्व, स्थिरता र लोकतन्त्र’ आएका छन् । ‘अमेरिकी हस्तक्षेपले लगभग सधैँ नै उत्तराधिकारको दीर्घकालीन समस्या सिर्जना गरेको इतिहास छ,’ उनले भने । 

– द गार्जियनबाट
रोजेरो द गार्जियनका लागि दक्षिण अमेरिकी संवाददाता हुन् 

See More On

सुझावित समाचार