अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा कम्प्लेक्समा राष्ट्रिय लिग, २०८२ को खेलतालिका आइतबार सार्वजनिक गरेको छ । आयोजक एन्फाले पूर्वघोषित मितिभन्दा पाँच दिनपछि राष्ट्रिय लिग आयोजना गर्न लागेको हो । प्रतियोगिता ३० पुसदेखि सुरु हुनेछ । यसअघि २५ पुसदेखि हुने तालिका थियो । सहभागी क्लबहरूले तयारी अपुग भएको जनाएपछि एन्फाले लिग पाँच दिन सारेको हो । लिगमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाले भाग लिएको छैन ।
हिमालयनबाहेक सहिद स्मारक ‘ए’ डिभिजन लिगका १३ तथा हेटौँडामा सम्पन्न एन्फा प्रेसिडेन्ट कपका शीर्ष चार क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने एन्फाका सिइओ इन्द्रमान तुलाधरले बताए । एन्फा प्रेसिडेन्ट कपका शीर्ष चार क्लब काँक्रेबिहार, लालीगुराँस, चित्लाङ र नव जनजागृति हुन् । ०७९ पछि ‘ए’ डिभिजन लिग आयोजना नभएपछि राष्ट्रिय तथा पूर्वखेलाडीको चर्को दबाबपछि एन्फाले राष्ट्रिय लिग आयोजना गर्न लागेको हो ।
पंकजविक्रम नेम्वाङ नेतृत्व एन्फाले ‘ए’ डिभिजन लिग आयोजना गर्न सकेको छैन । नेम्वाङको चारवर्षे कार्यकाल आगामी ४ असारमा सकिँदै छ । उनले एकपटक पनि लिगको साइकल पूरा गर्न सकेनन् । खेलाडी संघ र एन्फाबिचको सहमति हुँदा ‘ए’ डिभिजन लिगका शीर्ष ६ र प्रेसिडेन्ट लिगका चार टोली गरी कुल १० टोली सहभागी हुने भनिएको थियो । तर, एन्फाको यो निर्णयसँगै पुन: विवाद भएको थियो ।
१० क्लबबिच राष्ट्रिय लिग हुँदा ०७९ मा भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ पछिका क्लब अन्यायमा पर्ने देखिएको थियो । उनीहरूले राष्ट्रिय लिगमा सहभागी हुन पाउनुपर्ने भन्दै एन्फालाई दबाब दिएका थिए ।
लिगलाई प्रतिस्पर्धात्मक बनाउन एन्फाले पुन: सहभागी हुन चाहने क्लबलाई खुला गर्यो । त्यसपछि राष्ट्रिय लिगमा सहभागी हुने क्लबहरूको संख्या बढेको हो ।
काँक्रेबिहार र फ्रेन्ड्सबिच उद्घाटन खेल
लिगमा सहभागी क्लबका पदाधिकारीको उपस्थितिमा आइतबार एन्फाको केन्द्रीय कार्यालयमा खेलतालिका सार्वजनिक गरिएको हो । जसअनुसार ३० पुसको उद्घाटन खेलमा काँक्रेबिहारले फ्रेन्ड्स क्लबको सामना गर्नेछ । यो खेल एन्फा कम्प्लेक्समा हुनेछ । पहिलो दिन यसै वर्ष शीर्ष डिभिजन उक्लेको श्री भगवतीले ‘ए’ डिभिजन लिगको साबिक विजेता चर्च ब्वाइज युनाइटेडको सामना गर्नेछ । लिगका खेल तीनवटा मैदानमा हुनेछन् । सातदोबाटोको एन्फा कम्प्लेक्स, च्यासल रंगशाला र दशरथ रंगशालामा लिग हुने एन्फाले जनाएको छ । नेपाली राष्ट्रिय टोलीको खेलका दिन तथा विभिन्न समयमा लिगलाई विश्राम दिएको छ । राष्ट्रिय निर्वाचनका दौरान १६ देखि २३ फागुनसम्म लिग हुनेछैन । १६ र १७ माघमा नेपाल र चीनको टोलीबिच मैत्रीपूर्ण खेल हुने दिनमा पनि लिग नहुने आयोजकले जनाएको छ । एन्फाले आवश्यकताअनुसार खेलतालिका फेरबदल गर्न सक्ने जनाएको छ ।
लिगमा सहभागी क्लब
चर्च ब्वाइज युनाइटेड, नेपाल एपिएफ, काँक्रेबिहार, श्री भगवती, सातदोबाटो युथ, लालीगुराँस एसोसिएसन, मच्छिन्द्र एफसी, चित्लाङ, त्रिभुवन आर्मी, प्लानिङ ब्वाइज युनाइटेड, नेपाल पुलिस, मनाङ मस्र्याङ्दी, नव जनजागृति, न्युरोड टिम, जावलाखेल युथ, संकटा, फ्रेन्ड्स ।