मधेश प्रदेशको ६४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये एकजना महिलालाई मात्र निर्वाचन अधिकृतका रूपमा खटाउने निर्णय भएको छ । सर्वोच्च अदालतमा कार्यरत इजलास अधिकृत नूतन झालाई पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको रूपमा खटाउने निर्णय भएको हो ।
२१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउने निर्णय गरेको हो।आयोगले आइतबार १६५ क्षेत्रमा निर्वाचन अधिकृत खटाउने निर्णय गरेको छ ।
७७ न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तथा न्यायसेवाका अन्य ८८ सहसचिव र उपसचिवलाई निर्वाचन अधिकृतमा खटाइएको छ । २ माघदेखि कार्यालय स्थापना गरी उनीहरूलाई निर्वाचनसम्बन्धी कार्यक्रम सुरु गर्न भनिएको छ । निर्वाचन कार्यतालिकाअनुसार ६ माघमा प्रत्यक्षतर्फको मनोनयन दर्ता हुँदै छ।