१८ सिटका लागि हुन लागेको राष्ट्रिय सभा निर्वाचनको पूर्वसन्ध्यामा दुई ठुला कम्युनिस्ट दलका शीर्ष नेताले सम्भावित गठबन्धनकेन्द्रित छलफल गरेका छन् । आइतबार एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबिच तत्काल राष्ट्रिय सभा र फागुनमा प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्न सकिने–नसकिने विषयमा छलफल भएको हो । ११ माघका लागि तोकिएको राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुस (बुधबार) मा उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।
ललितपुरको च्यासलनजिक एक व्यवसायीको निजी निवासमा उनीहरूबिच आधा घण्टा एक्लाएक्लै छलफल भएको छ । २३–२४ भदौको जेन–जी आन्दोलनपछि दुई नेताबिच भएको सम्भवत: यो नै पहिलो अलग्गै प्रत्यक्ष भेटवार्ता भएको हो । यद्यपि, यसअघि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा उनीहरू आमने–सामने भएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ र पुराना दलको नाममा नयाँ भाष्य खडा गरेर चुनावी मोर्चाबाट चुनौती दिने गरी तयारी गरिरहेका वेला कांग्रेस, एमाले र नेकपाबिच सहकार्यका विकल्पमा पनि छलफल भइरहेका छन् । कांग्रेस, एमाले र नेकपा मिल्ने सम्भावनाको खोजीकै सिलसिलामा ओली–प्रचण्ड संवाद भएको ठुला पार्टीभित्र बुझाइ छ ।
‘राष्ट्रिय सभाको निर्वाचनमा एकताबद्ध भएर लडौँ भन्ने विषयमै केन्द्रित रहेर छलफल भएको हो, प्रतिनिधिसभाको निर्वाचनमा पनि मिल्न सकिने सम्भावनाका लागि प्रारम्भ राष्ट्रिय सभाबाट गरौँ भन्ने आशयसहित नेताहरूबिच संवाद चलिरहेकै छ,’ एमालेका निर्वतमान प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘अहिले कांग्रेससहित संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्छ भन्ने मान्यताकै आधारमा दुई अध्यक्षबिच छलफल चलेको हो, यसले केही दिनपछि ठोस परिणाम दिन पनि सक्छ ।’
ओली–प्रचण्ड भेटवार्ताअघि त्यही घरमा एमाले महासचिव शंकर पोखरेल र नेकपाका नेता वर्षमान पुनबिच पनि गत बिहीबार एक्लाएक्लै लामो वार्ता भएको थियो । त्यसअघि एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई महाराजगन्जस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । कांग्रेस–एमाले, एमाले–नेकपा र कांग्रेस–नेकपाका दोस्रो तहका नेताहरू नजिकिएको राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनलाई लिएर संवादमै छन् । पछिल्ला दिनमा कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विग्रहको खतरा बढेपछि भने एमाले–नेकपाबिचको संवाद बढी सघन बनेको छ ।
प्रचण्डको सचिवालयले आसन्न राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, चुनावी वातावरण निर्माण, सम्भावित सहकार्य तथा सरकारले चुनावको अनुकूल वातावरण बनाउन नसकेकोलगायतका विषयमा दुई अध्यक्षबिच समीक्षात्मक छलफल भएको जनाएकोे छ । यद्यपि, छलफलमा कुनै ठोस निष्कर्ष ननिस्किएकाले संवाद जारी रहन सक्ने सचिवालयको भनाइ छ । ‘अध्यक्षहरूबिच समसामयिक राजनीतिक घटनाक्रम, चुनावको तयारीलगायतका विषयमा केन्द्रित रहेर छलफल भएको हो,’ प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले भने ।
भेटमा उनीहरूले सरकारले निर्वाचनका लागि गम्भीर पहल नलिएको, ओलीमाथि लगाइएको स्थानहद नहटाइएको, अराजकता मच्चाउन अनेकखाले प्रयास भइरहेको र अन्तर्राष्ट्रिय परिस्थिति पनि प्रतिकूल रहेकोजस्ता विषयमा पनि समीक्षा भएको स्रोतले जनाएको छ । यसैबिच ओलीसँग छलफल सकिएपछि प्रचण्ड पार्टी कार्यक्रमको सिलसिलामा भारतको नयाँदिल्ली पुगेका छन् ।
यसअघि शुक्रबार एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले रास्वपाले काठमाडौंका मेयर बालेन्द्र शाह र उज्यालो नेपालका कुलमान घिसिङसँग एकता गरेपछि एमाले, कांग्रेस र नेकपाबिच पनि सम्भावित गठबन्धनकै विषयमा छलफल सुरु भएको बताएका थिए । लमजुङमा आयोजित पार्टी कार्यक्रममा उनले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबिच भइरहेको छलफलपछि नेकपा पनि संवादमा जोडिएकोसमेत बताएका थिए । त्यसक्रममा उनले कांग्रेस र एमालेबिच ७०/७० सिटको भागबन्डा गरेर बाँकी २५ सिट नेकपालाई छुट्याउन सकिनेसमेत प्रस्ट्याएका थिए ।
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २३ पुसमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका राखेको छ । त्यस्तै, २४ पुसमा दिउँसो ४ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २७ पुसमा दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र दिउँसो २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने गरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
राष्ट्रिय सभामा २१ फागुनमा १९ सांसदहरूको पदावधि सकिँदै छ । जसअनुसार एमालेका आठ, तत्कालीन माओवादी केन्द्रका सात, तत्कालीन एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी नेपालका एक, लोकतान्त्रिक समाजवादी पार्टीका एक र एक मनोनीत छन् । यीमध्ये १८ जना निर्वाचित हुने र एकजना राष्ट्रपतिबाट मनोनयन हुनेछन् ।