मकवानपुर र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाले ज्यान गुमाए

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा ६ जना र रोल्पाको सुनछहरीमा जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण

मकवानपुर र रोल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठजनाले ज्यान गुमाएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका– ६, जुरीखेतमा आइतबार साँझ भएको सुमो दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा एक महिला र पाँचजना पुरुष छन् । मकवानपुर प्रहरीका अनुसार उनीहरूको पहिचान खुलेको छैन । मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी पुष्कर बोगटीले घटनामा गम्भीर तीनजना घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको बताए ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आइतबार साँझ करिब ५:३० बजे सडकबाट करिब सय मिटर तल खसेको थियो । सुमोमा सवार नौजनालाई स्थानीयवासी र प्रहरीको सहयोगमा उद्धार गरी हेटौँडा अस्पताल ल्याइपुर्याइएको थियो । उद्धारपछि अस्पताल ल्याइएका एक महिला र पाँचजना पुरुषलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मृतकमध्ये दुईजनाको पहिचान खुलेको छ । हेटौँडा– ४ की सविता लम्साल र हेटौँडा– २ का निखिल अग्रवालको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

दुई विद्यार्थीको मृत्यु

यस्तै, रोल्पाको सुनछहरी गाउँपालिका– १, गामखोलामा आइतबार जिप दुर्घटना हुँदा दुई विद्यार्थीको मृत्यु भएको छ । नौजना घाइते भएका छन् । दुर्घटनामा परी सुनछहरी गाउँपालिका– ४, सिउरीका कक्षा पाँचमा पढ्ने ११ वर्षीय सुनील विक र १२ वर्षकी कक्षा सातमा अध्ययनरत दीपा पुनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ सिल्ड सकेर घर फर्किरहेको ग.१ज ६६६६ नम्बरको जिप शनिबार राति १० बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो । लुङ्ग्री गाउँपालिका– ७, हार्जङका २५ वर्षीय मनसुर घर्तीले चलाएको जिपमा सिउरीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत दुई शिक्षिकासहित ११ जना सवार थिए । घाइते सबैलाई तत्काल उद्धार गरी सुलीचौर प्राथमिक स्वास्थ्य चौकीमा लगिए पनि दुईजनालाई मृत घोषणा गरिएको थियो । 

सुझावित समाचार