नेपाल प्रहरीमा बढुवा भएका कर्मचारीले पदस्थापन भएको कार्यालयमा हाजिर भएपछि मात्र दर्ज्यान्ही चिह्न पाउने भएका छन् । पदस्थापन भएको कार्यालयमा नजाने प्रवृत्ति रोक्न प्रहरी प्रधान कार्यालयले यस्तो निर्णय गरेको हो ।
यससम्बन्धी निर्णयबारे शुक्रबारको परिपत्रमा भनिएको छ, ‘हालसम्म बढुवा नियुक्ति भएका प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षक दर्जासम्मका कर्मचारीहरूलाई बढुवापश्चात् गरिने दर्ज्यान्ही चिह्न शुभोभन कार्यरत कार्यालयमै गरिँदै आइरहेको व्यहोरा अवगत नै छ । सो सम्बन्धमा कार्यरत कार्यालयबाट नै गरिने दर्ज्यान्ही चिह्न सुशोभन कार्यक्रमपश्चात् पदस्थापन भएका कतिपय प्रहरी कर्मचारीहरू ठेकिएको दरबन्दीमा हाजिर हुन नगई कार्यरत कार्यालयमा नै कामकाज गर्ने गरेको पाइएको हुँदा जनशक्ति परिचालन तथा व्यवस्थापनमा प्रत्यक्ष असर पर्न गई दैनिक कामकारबाहीसमेत प्रभावित हुने गरेको पाइएकाले अबउप्रान्त बढुवा नियुक्तिपश्चात्र पदस्थापन भई दरबन्दी कायम भएका प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मका प्रहरी कर्मचारीलाहरूलाई ठेकिएको दरबन्दीमा हाजिर भएपश्चात् मात्र सम्बन्धित कार्यालयका तोकिएका प्रहरी अधिकृतबाट दर्ज्यान्ही चिह्न सुशोधन कार्यक्रम गर्न–गराउन निर्देशन भएको हुँदा सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गरी दिनुहुन भनी पत्र प्राप्त हुन आएको हुँदा सोहीअनुसार गर्न–गराउनहुन निर्देशानुसार अनुरोध छ ।’ यो निर्णयले जनशक्ति परिचालन र व्यवस्थापन प्रणालीमा सुधार आउने प्रहरी अधिकारी बताउँछन् ।