लालबन्दीबाट ६० किलो गाँजासहित एक युवक पक्राउ

आइतबार, २० पुष, २०८२
डिजिटल संस्करण

सर्लाहीको लालबन्दीबाट ठुलो परिमाणमा लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । 

आइतबार सर्लाहीको लालबन्दी नगरपालिका–१, जङ्गलटोलस्थित भित्री सडकबाट प्रहरीले ६० किलोग्राम गाजासहित एक युवकलाई पक्राउ गरेको हो । भारतीय नम्बर प्लेट बिआर०२पिबी २२२६ नम्बरको कारमा राखेर तस्करी गर्न लागेको अवस्थामा उक्त परिमाणमा लागुऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

प्रहरीका अनुसार हरिवन नगरपालिकाको डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको उक्त कार र बागमती प्रदेश ०६–०२प १७७० नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्न खोज्दा उनीहरू भागेका थिए । सोही क्रममा मोटरसाइकलका चालक लालबन्दी नगरपालिका–१, नवलपुर बस्ने ३२ वर्षका नुरहसन साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका साहले दिएको जानकारीका आधारमा प्रहरीले फरार कार र चालकको खोजी गरेको थियो । सोही क्रममा लालबन्दी नगरपालिका–१ जंगलटोलस्थित लालबाबु महतोको घरमा ठोक्काएर चालक फरार भएको अवस्थामा कार फेला परेको हो । त्यसपछि प्रहरीले नियन्त्रणमा लिएर कारको खानतलासी लिँदा सिटपछाडि लुकाएर राखेको १५ पोकामा ६० किलो गाजा बरामद भएको प्रहरीले जनाएको छ। 

बरामद लागू औषधसहित पक्राउ परेका साह, कार र मोटरसाइकल नियन्त्रणमा राखेर जिल्ला अदालतबाट आठ दिनको म्याद थपगरी अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक रबिन्द्र सिंह जोहारीले जानकारी दिए । घटनापछि फरार कार चालकको समेत खोजी तीव्र पारेको उनको भनाइ छ ।
 

सुझावित समाचार