आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एमाले ताप्लेजुङले उप–महासचिव योगेश भट्टराईसहित पाँचजनाको नाम सिफारिस गरेको छ ।
शनिबार सम्पन्न पार्टीको जिल्ला कमिटी बैठकले प्रत्यक्षतर्फ उप–महासचिव भट्टराई, कोशी प्रदेशका सांसद तथा केन्द्रीय सदस्य तिलकुमार मेन्याङवो, युवा संघ नेपालका केन्द्रीय अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य क्षितिज थेबे, कोशी प्रदेशका पूर्वमन्त्री तथा पूर्वकेन्द्रीय सदस्य टंक आङ्बोहाङको नाम सिफारिस गरेको हो ।
यसैगरी, फुङलिङ नगरपालिका उप–प्रमुख तथा जिल्ला कमिटी उप–सचिव भीमादेवी ओझाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरेको जिल्ला कमिटी सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए ।
उपमहासचिव योगेश भट्टराई यसअघि ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङबाट निर्वाचित भएका थिए । पार्टीले सिफारिस सूची केन्द्रमा पठाएको र अन्तिम निर्णय केन्द्रीय कमिटीले गर्ने जनाएको छ ।