जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्न सात लाखभन्दा बढी रकम संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी धनकुटा शाखाको पहलमा धनकुटा अस्पतालमा ब्लड बैंक स्थापना गर्न लागिएको हो ।
धनकुटा अस्पतालमा पहिल पनि ब्लड बैंक स्थापना गरिएको थियो, तर संकलित रगत प्रयोगमा नआएपछि बन्द भएको थियो । पछिल्लो समयमा धनकुटा अस्पतालमा नै विभिन्न रोगका विशेषज्ञ डाक्टरले सेवा दिन सुरु गरेपछि ब्लड बैंकको स्थापनाको पहल सुरु भएको हो । यही क्रममा रेडक्रस सोसाइटी धनकुटाले हालसम्म सात लाख एक हजार रुपैयाँ सहयोग संकलन गरेको हो । सहयोग संकलन जारी छ ।
ब्लड बैंक स्थापनाको लागि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानबाट दुई लाख, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् जापानका उपाध्यक्ष रोविनप्रसाद शेरचनबाट एक लाख र एनआरएनए राष्ट्रिय समन्वय परिषद् किर्गिस्तानका पूर्वअध्यक्ष डा. किसान भण्डारीबाट दुई लाख सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी धनकुटाका शाखाका अध्यक्ष छत्रबहादुर श्रेष्ठले बताए।
यस्तै, एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनबाट ७१ हजार, एनआरएनए सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतबाट ५५ हजार, एसिया न्यासिफिक उपचक्षेत्रीय संयोजक दीपक कँडेलबाट ५० हजार र एनआरएनए राष्ट्रिय समन्वय परिषद् कंगोबाट २५ हजार रुपैयाँ सहयोग प्राप्त भएको नेपाल रेडक्रस सोसाइटी धनकुटाले जनाएको छ ।