रौतहट दुर्गाभगवती गाउँपालिका–४ छतौनाकी १४ बर्षीय बालिकालाई भगाएपछि प्रहरीले घटनामा संलग्न युवाका बुबा रामाज्ञा राय यादवलाई नियन्त्रणमा लिएको छ । घटनाका मतियार रौतहट दुर्गाभगवती गापाकै राजेश यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई छतौनाकै २० बर्षीय दिलिप यादवले गत २ पुसको राती मकवानपुरको हेटौडबाट राती भगाएर लगेका थिए । त्यसएता बालिका र दिलिप सम्पर्कमा छैनन् । बालिका परिवारका सदस्यसँगै हेटौडा उमनपा–४ स्थित भुटनदेवी माविमा कक्षा १० मा अध्ययनरत थिइन् । उनलाई सोही स्थानबाट भगाएर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक उमाशंकर दास गुप्ताले बताए ।
उनले भने,‘बालिकालाई २० बर्षको युवाले भगाएको सम्बन्धमा हामी कहाँ जाहेरी परेको छ । बालिका र युवाको खोजी भइरहेको छ । उनीहरुलाई भगाउन सहयोग गर्ने राजेश यादव पक्राउ परेका छन् । युवाका बुबालाई सोधपुछका लागि रौतहट प्रहरीले सम्पर्कमा ल्याइएको सूचना छ ।’
प्रहरीका अनुसार एकाएक सम्पर्क बिहिन भए लगतै बालिकाकी बुबा नेमलाल राय यादवले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय रौतहट मातहतको इलाका प्रहरी कार्यालय गंगापिपरामा जोहरी दिएका थिए । त्यस लगतै प्रहरी बालिका र युवा खोजीमा जुटेको थियो । यही क्रममा दिलिपका बुबा रामाज्ञालाई सोधपुछका लागि ल्याइएको जिप्रका रौतहटका एसपी रविन कार्कीले बताए । उनले भने,‘बालिकालाई युवाले भगाएको सूचना छ । परिवारका सदस्यले जिप्रका मकवानपुरमा जाहेरी दिएका छन् । किनकी घटना हेटौंडाको हो । हामीलाई पनि सहयोग गर्न जिप्रका मकवानपुरले भनेको हो । सोही अनुसार युवाका बुबालाई सोधपुछका लागि कार्यालय ल्याइएको हो ।’
बुबा नेमलालका अनुसार दिलिपले बालिकालाई भारतको बिहार लगेका छन् । घटनामा दुर्गाभगवती गाउँपालिका–४ का वडा अध्यक्ष रामानन्द प्रसादको भूमिका शंकास्पद रहेको उनको दाबी छ । उनले भने,‘छोरी २ पुसदेखि लापत्ता छिन् । गाउँकै दिलिप यादवले भगाएको सूचना छ । दुबै जना सम्पर्कमा छैनन् । उनीहरुले छोरीलाई बिहार लगेको सूचना छ । सकुशल छन् या तलमाथि केही भयो बुझ्न सकिएको छैन । हामी बडो चिन्तामा छौं ।’ वडा अध्यक्ष रामानन्दले भने बालिकालाई दिलिपले भगाएको सूचना प्राप्त भएको तर, घटनामा आफ्नो कुनै संलग्नता नभएको बताए ।