एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरको दमक उद्योग वाणिज्य संघको निर्वाचनमा एमालेबाट प्रतिस्पर्धा गरेका उम्मेदवार पराजित भएका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा ओलीको गृहनगर दमकमा भएको व्यवसायीको निर्वाचनमा एमालेलाई धक्का पुगेको हो । स्थानीय तहको निर्वाचनकै झल्को दिने गरी भएको निर्वाचनमा एमालेविरुद्ध बनेको कांग्रेस–नेपाली कम्युनिस्ट पार्टीसहितको दलकोे गठबन्धनले बहुमत सदस्यसहित जित निकालेको हो। दुई हजार २३८ मतदान रहेको दमक उद्योग वाणिज्य संघमा २०३८ मत खसेको थियो ।
कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीसहितको गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका कांग्रेसका गोपाल गुरागाईं दमक उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएका छन् ।
वरिष्ठ उपाध्यक्ष पदबाहेक सबै पदाधिकारी यो गठबन्धनबाट निर्वाचित भएका हुन् । गुरागाईंले एमालेको तर्फका उम्मेदवार भरत चम्लागाईं र राप्रपाको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका राजु खड्कालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा भने एमालेको तर्फबाट उम्मेदवार बनेका भगवान बस्नेत निर्वाचित भए । उनले कांग्रेस–नेकपा गठबन्धनका ज्ञाननाथ पौडेल र राप्रपाका राजकुमार योङ्यालाई पराजित गरे । यस्तै, प्रथम उपाध्यक्षमा गठबन्धनका रुबल अधिकारी, द्वितीय उपाध्यक्षमा गठबन्धनका टीकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुभाषचन्द्र गड्तौला, महिला उपाध्यक्षमा गठबन्धनकी संगीता तुम्बापो विजयी भएका छन् ।
यस्तै, ६ पदाधिकारीसहित २१ जनाको कार्यसमिति गठबन्धनले पाँच पदाधिकारी र ७ जना सदस्य जितेको छ। यस्तै, एमालेले वरिष्ठ उपाध्यक्ष र चारजना सदस्य मात्रै जितेको छ भने राप्रपाको तर्फबाट चारजना सदस्य निर्वाचित भएका छन्। तीनसदस्यीय लेखा समितिमा संयोजकसहित दुईजना गठबन्धनका छन् भने एकजना एमालेनिकट व्यवसायी निर्वाचित भएका छन् ।