झापाको कमल गाउँपालिका– ५, पाडाजुँगीका ३० वर्षीय प्रकाश भट्टराई २३ भदौअघिसम्म दमकको एउटा एकेडेमीमा कुक प्रशिक्षकका रूपमा विद्यार्थीलाई सिप सिकाइरहेका थिए । बिहान कक्षा लिन्थे र बेलुकी घर फर्किन्थे । तर, आज उनी घरभित्र–बाहिर बैसाखीको सहारामा ओहोर–दोहोर गर्दै जीवन धकेलिरहेका छन् ।
भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आह्वान भएको जेन–जी आन्दोलनमा सहभागी हुन उनी २३ भदौ बिहानै घरबाट निस्किएका थिए । देशमा रोजगारी नपाएर बिदेसिएका दुई दाजुको पीडा, यहाँ व्याप्त भ्रष्टाचारको विकराल तस्बिर र भविष्यप्रतिको चिन्ताले उनी चुप बस्न सकेनन् ।
बिहान १० बजेसम्म विद्यार्थी पढाएर उनी परिवर्तनको आशा बोकेर आन्दोलनमा उत्रिएका थिए । तर, दमकको सडकमा शान्तिपूर्ण आन्दोलन गरिरहेका उनीमाथि प्रहरीको गोली लाग्यो । गोली उनको देब्रे तिघ्रामा लाग्यो । हड्डी छियाछिया भयो । र, हतारहतारमा अस्पताल पुर्याए ।
शल्यक्रियापछि उनी अहिले बैसाखीको सहारामा बाँचेका छन् । ‘देशमा एउटा समूहको मनोमानी चल्यो, भ्रष्टाचार मौलायो । त्यो देखेर आन्दोलनमा नजान मनले मानेन,’ प्रकाश भन्छन्, ‘देशमा रोजगारी छैन । यहाँको कामले खान पनि पुग्दैन । दुई दाजु बिदेसिएको सम्झिएँ । अहिले आफैँ यो हालतमा छु ।’
आन्दोलन भएको चार महिना बितिसक्दा पनि उनको उपचार अझै सकिएको छैन । घाइते भएपछि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा दुईपटक शल्यक्रिया गरी तिघ्रामा लागेको गोली त निकालिएको थियो । तर, पूर्ण निको भएको छैन । ‘अहिले केही ठिक त भएको छ,’ उनी भन्छन्, ‘बैसाखी टेकेर भित्र–बाहिर गर्न सकिन्छ । तर, जति वेला पनि दुखेर निकै गाह्रो हुन्छ । उपचार अझै चलिरहेको छ ।’
अस्पतालले शल्यक्रिया नि:शुल्क गरिदिए पनि फलोअप र थेरापीका लागि लागेको खर्च उनले आफैँ बेहोर्दै आएका छन् । ‘अहिलेसम्म उपचारमा करिब चार लाख खर्च भइसकेको छ,’ उनी भन्छन्, ‘सरकारले २० हजार दियो । त्यसपछि कसैले सोधेन ।’
राजनीतिक परिवर्तनको आशामा उनी घाइते भए । देशमा ठुलो परिवर्तन आउने अपेक्षा थियो । देशको अवस्था पनि अझै सोचेजस्तो भएको छैन । शरीरभन्दा गहिरो चोट उनको मनमा छ । ‘सरकार फेरियो, तर प्रवृत्ति फेरिएन,’ उनी भन्छन्, ‘ भ्रष्टाचारका फाइल खुल्छन् भन्नेमा थियौँ । तर, खासै केही भएन । बरु हिजो देश दोहन गर्नेहरू फेरि जुर्मुराउन थालेका छन् ।’
शान्तिपूर्ण आन्दोलनमा सहभागी भएकालाई कसैकसैले आतंककारी भन्न थालेको उनको गुनासो छ । परिवर्तनका लागि सडकमा उत्रिएका प्रकाशलाई फेरि पुरानै पात्र सत्तामा फर्किन्छन् कि भन्ने डर छ । ‘फेरि उनीहरू नै आए भने परिवर्तनका लागि लड्ने हामीलाई जेल हालिन्छ होला,’ उनी भन्छन्, ‘हामीले विध्वंस मच्चाएका होइनौँ । आवाज उठाउँदा गोली खाएका हौँ । विध्वंस गर्नेको छानबिन होस् । हामीमाथि दोष थोपर्न मिल्दैन ।’
तमाम निराशाबिच पनि उनी २१ फागुनमा हुने निर्वाचनप्रति भने आशावादी देखिन्छन् । ‘चुनावले देशलाई सही दिशामा लैजाने प्रतिनिधि ल्याओस् भन्ने आशा छ,’ उनी भन्छन्, ‘सुशासन होस् । देशमै रोजगारी सिर्जना होस् । गाउँमा मलामी जान पनि युवा नपाइने अवस्था अन्त्य होस् ।’
यति मात्र होइन, उनी लोकतान्त्रिक मूल्य–मान्यताप्रति चाहिँ स्पष्ट नै छन् । ‘हामी पुराना दलका विरोधी होइनौँ । खराब व्यक्तिका विरोधी हौँ । राम्रा मान्छे जुनसुकै दलका भए पनि हामीलाई फरक पर्दैन । तर, ०८४ को चुनाव, ०८२ जस्तै मात्र नहोस् ।’
यस्तै, धनकुटा नगरपालिका–५ का २० वर्षीय अविनाश राईलाई राजनीतिमा खासै रुचि थिएन । तर, देशमा रोजगारी नपाएर बिदेसिनुपर्ने बाध्यताको पीडा उनले नजिकबाट देखेका छन् । कक्षा १२ सकेर स्नातक पढ्न झापाको कमल गाउँपालिकास्थित मामाघर आएका उनी पनि २३ भदौको आन्दोलनमा सहभागी भए । दमक नगरपालिकाअगाडि भएको आन्दोलनका क्रममा उनको शरीरका नौ ठाउँमा गोलीका छर्रा लागे ।
विराटनगरको नोबेल अस्पतालमा शल्यक्रिया गरी आठवटा छर्रा निकालियो । तर, एउटा छर्रा अझै उनको पेटमै छ । ‘अपरेसन गर्दा खतरा हुन्छ भनेर नौवटामध्ये एउटा छर्रा निकालिएको छैन,’ अविनाश भन्छन् ।
शरीरभित्र गोलीको छर्रा बोकेर हिँडिरहेका अविनाशलाई पनि राज्यले बेवास्ता गरेको महसुस छ । ‘नोबेल अस्पतालले उपचार त गरिदियो,’ उनी भन्छन्, ‘तर औषधिमै ५० हजारभन्दा बढी खर्च भयो । सरकारले २० हजार मात्रै दियो । न उपचारका लागि पर्याप्त सहयोग पाइयो, न त ठुलो परिवर्तन नै देखियो ।’
२१ फागुनमा हुने निर्वाचनमा अविनाश पहिलोपटक मतदान गर्दै छन् । भर्खरै मतदाता नामावलीमा नाम दर्ता गराएका उनी यो चुनावप्रति आशा राख्छन् । ‘यो चुनावले गलत प्रवृत्तिको अन्त्य गरोस्,’ उनी भन्छन्, ‘पढेर पनि विदेश जानुपर्ने बाध्यता हटोस् । देशमै रोजगारी पाइयोस् । हाम्रो अपेक्षा यही हो ।’