देउवाले अब के गर्लान् ?

शनिबार, १९ पुष, २०८२
डिजिटल संस्करण

पार्टी विभाजनसम्म पुग्न सक्ने गरी दुवै पक्ष आमने–सामने भएपछि कांग्रेस सभापतिको हैसियतमा शेरबहादुर देउवाको भूमिका के होला भनेर सबैको चासो छ । दुवै पक्षले औपचारिक प्रतिक्रियामा भने पार्टी एकतामा जोड दिएका छन् । तर, एकले अर्कोमाथि निर्णायक दबाब बनाउने र आरोपित गर्ने खेल भने रोकिएको छैन । 

विश्लेषक लोकराज बराल भन्छन्, ‘सभापति शेरबहादुर देउवाले बुद्धि पुर्याएर प्रयास गरे भने पार्टी जोगिएला । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माहरू पछि हट्ने सम्भावना देख्दिनँ ।’

पार्टीमा देखिएको संकट टार्न भन्दै आफूलाई भेट्न आएका नेताहरूसँग देउवाले पार्टी फुटमा जान नहुने बताएका थिए । बिहीबार केन्द्रीय सदस्य आङ्गेलु शेर्पा, उदयशमशेर राणा, राजेन्द्र केसीलगायतको टोलीले सुरुमा सभापति देउवा र त्यसपछि महामन्त्रीद्वय थापा र शर्मासँग भेटेको थियो । 

‘पार्टी कुनै पनि हालतमा फुटतर्फ जानुहुन्न । विशेष महाधिवेशनको विषयमा उहाँहरू (महामन्त्रीद्वय)ले धेरै हतार गर्नुभो । मैले नेतृत्व छाडेर कार्यवाहक दिइसकेको छु । मैले त अब छाड्ने नै हो । अब पनि मैले के छाड्नुपर्ने हो त्यसका लागि पनि तयार छु । तर, पार्टी फुट्नुहुँदैन,’ देउवालाई उद्धृत गर्दै केन्द्रीय सदस्य आङ्गेलु शेर्पाले नयाँ पत्रिकासँग भने । 

महामन्त्री थापाले भने समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूहरूलाई बाइपास गरिएको, पुसभित्र नियमित महाधिवेशन गर्न आलटाल गरिएको भन्दै गुनासो गरेका थिए । ‘हामी पार्टी फुट्न दिँदैनौँ र पार्टी फुट्दैन भन्ने उहाँहरूको भनाइ थियो,’ शेर्पाले भने, ‘हामीले उहाँहरूलाई मध्यमार्गी बाटो निकाल्नुस् र चुनावको मुखमा पार्टीमा एकताको सन्देश दिनुहोस् भन्यौँ ।’ 

प्रवक्ता महतले सहमतिका लागि सभापति देउवाले विगतदेखि नै भूमिका निर्वाह गरेको उल्लेख गर्दै भने, ‘अब पनि उहाँले सहमतिका लागि प्रयास गर्नुहुन्छ । तर, निर्णय प्रक्रियामा फरक मत राखे पनि उहाँहरू (महामन्त्री)ले बहुमतको निर्णय नै मान्दिनँ भन्न पाउनुहुन्न । त्यसमा टेकेर अघि बढ्नुपर्छ ।’

सुझावित समाचार