त्रिशला गुरुङले रास्वपाको समानुपातिक उम्मेदवारी त्यागिन्

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा रहेकी गायिका तथा चिकित्सक डा. त्रिशला गुरुङले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारीबाट पछि हट्ने घोषणा गरेकी छिन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि उनी उज्यालो नेपाल पार्टीको कोटाबाट बन्दसूचीमा समावेश थिइन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको वक्तव्यमा डा. गुरुङले आफूलाई समानुपातिक उम्मेदवारका रूपमा सिफारिस गरिनु सम्मानको विषय भएको उल्लेख गरेकी छिन् । तर, गहिरो आत्मसमीक्षापश्चात् राजनीतिक प्रतिस्पर्धामा नजाने निर्णय गरेको स्पष्ट पारेकी छिन् ।

उनका अनुसार यो कदम कुनै असहमति वा अस्वीकारका कारण होइन । बरु चिकित्सा र कला क्षेत्रमा आफ्नो पेसागत भूमिकालाई निरन्तरता दिँदै दीर्घकालीन सामाजिक योगदानमा केन्द्रित रहने चाहनाले यस्तो निर्णय लिएको उनले बताएकी छिन् । राजनीतिबाहिर रहेर नागरिक समाज र समुदायसँग स्वतन्त्र रूपमा काम गर्न सकिने विश्वास उनको भनाइ छ ।

डा. गुरुङले पार्टी नेतृत्वले आफूप्रति देखाएको भरोसा, सम्मान र सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि समाज र स्वास्थ्य क्षेत्रका मुद्दामा सक्रिय रहने प्रतिबद्धता जनाएकी छिन् । औपचारिक राजनीतिक पदमा नरहे पनि सामाजिक आवाजको रूपमा निरन्तर सक्रिय रहने उनको धारणा छ ।

उनले रास्वपाको आगामी राजनीतिक यात्राको सफलताको कामना गर्दै लोकतान्त्रिक अभ्यास र समावेशी प्रतिनिधित्व अझ सुदृढ बनोस् भन्ने शुभेच्छा पनि व्यक्त गरेकी छिन्।

सुझावित समाचार