नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा सम्मानित भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कम्पनीलाई सम्मान गरेका हुन् । यस कम्पनीले दरबारमार्गस्थित प्रहरी कार्यालयको पुनर्निर्माणमा गरेको सहयोगको सम्मानस्वरूप कदरपत्र प्रदान गरिएको हो । उक्त सम्मान कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा ग्रहण गरे ।
दरबारमार्गको प्रहरी कार्यालय निर्माणार्थ यस कम्पनीले १७ लाख रुपैयाँ सहयोग गरेको थियो । कम्पनीका अनुसार यसअघि पनि सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख सहयोग प्रदान गरिएको थियो । साथै, काठमाडौंको बसपार्कस्थित प्रहरी कार्यालयको खानेपानी तथा शौचालय निर्माणार्थ ६० हजार र जिल्ला प्रहरी कास्कीलाई कार्यसम्पादन चुस्त–दुरुस्त र प्रविधिमैत्री बनाउन पाँच थान कम्प्युटर प्रदान गरिएको थियो ।
गत भदौ २३ र २४ मा भएको जेन–जी प्रदर्शन र आन्दोलनका क्रममा देशैभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि कम्पनीले विभिन्न सहयोग गर्दै आइरहेको छ ।