पिपल्स च्वाइसमा मत दिने अर्को अवसर

लोकप्रिय खेलाडीको विधामा उसुका विजय सिँजाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबुलटेनिसकी इभाना थापा छन्

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

२२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अर्को साता पोखरामा हुँदै छ । नेपाल खेलकुद पत्रकार मञ्चले पहिलोपटक अवार्ड काठमाडौंबाहिर आयोजना गर्न लागेको हो । सबैभन्दा बढी खेलकुद गतिविधि हुने सहर पोखरा हुँदा यसले थप आकर्षक बढाउने पक्का छ । हुनत यो अवार्ड २९ भदौमा हुनुपर्ने थियो । तर, २३ र २४ को जेन–जी आन्दोलनका कारण अवार्ड पूर्वघोषित समयमा हुन सकेन । आयोजकले दोस्रोपटक मिति घोषणा गर्दै २३ पुसमा अवार्ड कार्यक्रम राखेको छ । 

२२ पुसमा स्पोर्टस् समिट पनि आयोजना हुनेछ । मञ्चले तयारी पूरा भएको जनाइसकेको छ । १० विधामध्ये सबैभन्दा प्रमुख आकर्षण रहेको पिपल्स च्वाइस अवार्ड हो । मनोनयनमा परेकालाई मत दिने अवसर अझै बाँकी छ । जेन–जी आन्दोलनका वेला रोकिएको मत दिने प्रक्रिया यसै सातादेखि फेरि सुरु भएको मञ्चले जनाएको छ । ‘डिजिटल वालेट खल्तीबाट भोटिङ गर्ने प्रक्रिया अहिले खुला छ । यो अवार्डको अघिल्लो रातसम्म जारी रहनेछ,’ मञ्चका सचिव अञ्जन खड्काले भने ।

यसपल्टको लोकप्रिय खेलाडीको विधामा उसुका विजय सिँजाली, क्रिकेटकी पूजा महतो, भलिबलका हिमाल सुनारी, फुटबलकी रेखा पौडेल र टेबुलटेनिसकी इभाना थापा छन् । जेन–जी आन्दोलनपछि नेपाली खेलकुद सुस्त रहेन । धेरै अर्थमा नेपाली खेलकुद चलायमान नै रह्यो । पिपल्स च्वाइस अवार्डमा मनोनयनमा तीनजना महिला खेलाडी छन् । रेखा केही दिनअघिसम्म माल्दिभ्समा थिइन् । उनले माजियाबाट व्यावसायिक फुटबल खेलिरहेकी थिइन् । यसैक्रममा उनको क्लबले माल्दिभ्सको महिला लिग उपाधि पनि जित्यो । 

व्यस्त छन् मनोनयनमा परेका खेलाडी
नेपाली महिला क्रिकेटमा पूजाको उपस्थिति अझ दरिलो बनेको छ । उमेर तथा सिनियर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गरेकै कारण पूजाको चर्चा बारम्बार हुने गर्छ । ब्याट र बल दुवैबाट योगदान दिन सक्ने उनले हालै मलेसियाविरुद्धको पाँच टी–२० आई सिरिज खेलिन् । अब पूजाको ध्यान आइसिसी महिला टी–२० ग्लोबल छनोटमा छ । पुसको चौथो सातामा ग्लोबल छनोट नेपालमै हुनेछ । इभानाले अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिकका लागि नेपाल ओलम्पिक कमिटीले प्रदान गर्ने छात्रवृत्ति जितेकी छिन् । अबको दुई वर्ष उनी प्रशिक्षण र प्रतिस्पर्धामा व्यस्त हुनेछिन् । विजय र हिमाल पनि खेलको मैदानबाट टाढा रहेनन् । विजय न्युजिल्यान्डमा खेल्न पुगेका छन् । हिमाल गण्डकीकै हुन् ।

 भोटिङका आधारमा विजेता
यस विधाको विजेता भोटिङका आधारमा हुनेछ । जसले बढी मत प्राप्त गर्छ ऊ नै विजेता हुनेछ । आइएमई खल्तीमार्फत गरिने मतको भार ५० प्रतिशत हुनेछ । फेसबुक भोटिङको २५ प्रतिशत, राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको भोटिङ १२.५ र आयोजक मञ्चका सदस्यको भोटिङको १२.५ मतभार हुनेछ ।

सुझावित समाचार