नेपालमा क्रिप्टोकरेन्सीलगायतका अभौतिक सम्पत्तिको कारोबार आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको नेपाल राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । केन्द्रीय बैंकको वित्तीय सूचना एकाइले तयार पारेको भर्चुअल एसेटसम्बन्धी रणनीतिक प्रतिवेदन, २०२५ सार्वजनिक गर्दै यस्तो तथ्य बाहिर ल्याएको हो ।
अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा भर्चुअल एसेट्ससम्बन्धी गतिविधि कानुनी रूपमा निषेधित भए पनि त्यस्ता गतिविधि अवैध वैदेशिक विनिमय कारोबार (हुन्डी कारोबार), अनलाइन वित्तीय ठगी, अनलाइन जुवा, व्यवसायको वास्तविक प्रकृति लुकाई गरिने कारोबार तथा मनीम्युलको प्रयोगजस्ता आपराधिक क्रियाकलापसँग जोडिएर हुने गरेको विश्लेषणले देखाएको छ ।’ यस्ता गतिविधिले औपचारिक वित्तीय प्रणालीलाई छल्दै सीमापार मूल्य स्थानान्तरण, तहगत कारोबार तथा अवैध आम्दानी लुकाउने कार्यलाई सहज बनाउने जोखिम रहेको अध्ययनले देखाएको छ ।
वित्तीय सूचना एकाइका प्रमुख एवं नेपाल राष्ट्र बैंकका निर्देशक वासुदेव भट्टराईका अनुसार प्रतिवेदनले भर्चुअल एसेटसम्बन्धी अनुसन्धान तथा नियन्त्रणमा देखिएका प्रमुख चुनौती उजागर गरेको छ । उनले भने, ‘प्रतिवेदनले सूचक संस्थाहरू, नियामक–सुपरिवेक्षक निकाय तथा कानुन कार्यान्वयन गर्ने निकायका लागि लक्षित सुझाव प्रस्तुत गरेको छ । नेपालमा भर्चुअल एसेटसम्बन्धी कुनै पनि किसिमको कारोबार, प्रयोग, स्थानान्तरण वा लगानी प्रचलित कानुनबमोजिम पूर्ण रूपमा निषेधित छ । यस्ता गतिविधिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न व्यक्ति वा संस्थाविरुद्ध सम्बन्धित कानुनअनुसार अनुसन्धान, रोक्का, जफत तथा अभियोजन प्रक्रिया अघि बढ्न सक्ने व्यहोरालाई प्रतिवेदनले स्पष्ट पारेको छ ।’
भर्चुअल एसेटसम्बन्धी सन्दिग्ध कारोबार बढ्दै
वित्तीय सूचना एकाइमा रिपोर्टिङ भएको तथ्यका आधारमा हरेक वर्ष भर्चुअल एसेटसम्बन्धी सन्दिग्ध कारोबार बढ्दै गएको देखिन्छ । सन् २०२५ को १ जनवरीदेखि १६ जुलाईसम्म ८२ वटा यस्तो कारोबार रिपोर्टिङ भएका छन् । सन् २०२४ मा दुई सय ५२ वटा कारोबार देखिएको थियो । त्यस्तै, सन् २०२३ मा एक सय ३८, सन् २०२२ मा एक सय ७३ र सन् २०२१ मा १३ वटा घटना रिपोर्टिङ भएका छन् । यसरी रिपोर्टिङ भएका अधिकांश घटना वाणिज्य बैंकमार्फत देखिएको छ । सन् २०२१ देखि २०२५ को जुलाई १६ सम्ममा कुल ६ सय घटना वाणिज्य बैंकहरूबाट भएका छन् । दोस्रोमा विकास बैंकमा ४८ वटा यस्ता घटना रिपोर्टिङ भएका छन् । ६ वटा रेमिट्यान्स कम्पनी, दुई फाइनान्स कम्पनी, एक भुक्तानी प्रणाली सञ्चालक र एक ब्रोकर कम्पनी छन् । एकाइले यस्ता प्रतिवेदनहरूमध्ये अधिकांश नेपाल प्रहरीलाई बुझाइदिने गरेको छ भने केही प्रतिवेदन राजस्व अनुसन्धान विभागमा पठाएको छ ।
भर्चुअल एसेटसम्बन्धी गतिविधिमा २६ देखि ३० वर्षसम्मका उमेर समूहका
एकाइले सन् २०२२ देखि सन् २०२५ को जुलाई १६ सम्ममा रिपोर्टिङ भएका एक सयवटा प्रतिवेदनलाई नमुना लिएर विश्लेषण गरेको छ । प्रतिवेदनका आधारमा भर्चुअल एसेटसम्बन्धी गतिविधिमा २६ देखि ३० वर्षसम्म समूह भएका व्यक्ति छन् । यस्तो समूहभित्रका ३५ प्रतिशत आबद्ध देखिएका हुन् । २१ देखि ३५ वर्षसम्मका उमेर समूहका २० प्रतिशत र ३१ देखि ३५ प्रतिशतसम्मका २० प्रतिशत आबद्ध भएको पाइएको छ । १६ देखि २० वर्षसम्म उमेर समूहका तीन प्रतिशत, ३६ देखि ४० वर्षभित्रका १२ प्रतिशत र ४१ प्रतिशतभन्दा बढी उमेरका १० प्रतिशत यस्तो कारोबारमा आबद्ध छन् । यसरी भर्चुअल एसेटसम्बन्धी गतिविधिमा आबद्ध हुनेमा सबैभन्दा बढी विद्यार्थी छन् । २९ प्रतिशत विद्यार्थी छन् भने २१ प्रतिशत जागिरे र १९ प्रतिशत व्यवसायी छन् ।