- बयान नदिने र जबर्जस्ती लिन खोजे चुनावी वातावरण नै बिथोलिने चेतावनी दिँदै आएका एमाले अध्यक्ष ओलीले ‘जाँचबुझ आयोगका पदाधिकारी आफ्नो घरमा आए चिया खुवाएर पठाउने’ अभिव्यक्ति दिएर ‘मध्यमार्गी विकल्पमा औपचारिकता पूरा गर्न सकिने’ जनाउ दिएका छन् ।
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकाएको छ । आयोगले सोमबार र बुधबार गरी दुई दिन उनको बयान लिएको हो । बयान सकिएसँगै बिहीबारदेखि उनको स्थानहद हटाइएको छ ।लेखकको बयान सम्पन्न भएसँगै आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयान लिने तयारी गरेको छ । सम्भवतः शुक्रबार बयानका लागि ओलीलाई पत्र लेखिने आयोगका एक अधिकारीले बताए ।
ओलीको बयानअघि आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए । बयानले चुनावी वातावरण बिगार्ने ओलीको चेतावनी छ ।
प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई पनि केही दिनमै बयानका लागि बोलाइने स्पष्ट पारे । बयानमा नआए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँ (तत्कालीन प्रधानमन्त्री ओली)लाई हामी अब चिठी काट्दै छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ ।’
आयोगले सो घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको बयान यसअघि नै लिइसकेको छ । अब ओलीको बयान मात्र बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेख्ने काम सुरु गरिने आयोगका एक पदाधिकारीले बताए । अध्यक्ष कार्कीका अनुसार ९ माघभित्रै प्रतिवेदन बुझाउने लक्ष्यसहित काम भइरहेको छ ।