पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– १२, भटौलियामा रहेको कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको सुतिरहेकै अवस्थामा शंकास्पद मृत्यु भएको छ ।काम गरेर उद्योगको कोठामा सुतेका बर्दघाट नगरपालिका– १३, धनेवाका ४० वर्षीय होमबहादुर थापा र भारतको उत्तर प्रदेशका ३० वर्षीय विनोद कुमारको मृत्यु भएको हो । दुवैजना ग्यासी फायर (अग्नि नियन्त्रण) प्लान्टमा कार्यरत थिए ।
उद्योगको ग्यासी फायरको पोकिङ फ्लोरमा एकैठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको पश्चिम नवलपरासी प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । शरीरमा बाहिरी कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ ।यही घटनाका कारण भटौलिया क्षेत्र दिनभर तनावग्रस्त बनेकामा उद्योग बन्द गरेर छानबिन गर्ने सहमतिपछि साँझ मात्र शव उठेको छ ।
पश्चिम नवलपरासी प्रहरीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुशील घिमिरेले उद्योग सिल गरेर घटनाको अनुसन्धान गर्ने सहमति पछि आफन्तले शव बुझेको बताए । शव पोस्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । उद्योगका जनसम्पर्क वरिष्ठ प्रबन्धक रमेश न्यौपानेले ग्यास लिग नभई कोठामा सुतेको अवस्थामा अक्सिजनको कमी भएर मृत्यु भएको हुन सक्ने बताए । स्थानीय बासिन्दा र पीडित परिवारका आफन्तले उद्योग घेराउ गर्दै दिनभर प्रदर्शन गरेका थिए ।
मृत्यु भएको बिहानै जानकारी भए पनि उद्योग प्रशासनले प्रहरी र मृतकका आफन्तलाई बिहान ८ बजेपछि मात्र खबर गरेका थिए । उद्योग प्रशासनले प्रहरी र आफन्तलाई खबर गर्न ढिलो गरेपछि घटना थप शंकास्पद देखिएको स्थानीयको आरोप छ ।