प्रेरक प्रसंग : सेवकको कोठा

शुक्रबार, १८ पुष, २०८२
डिजिटल संस्करण

जतिखेर ब्रिटेनका विश्वविख्यात वैज्ञानिक कथाकार लेखक एवं इतिहासकार एचजी वेल्स सानै थिए, उनकी आमा घरेलु नोकर्नीका रूपमा काम गर्थिन् । ठुलो भएपछि वेल्सले धेरै धन कमाए । उनले कैयौँ तला भएको भव्य महल बनाए । एकपटक उनले घर आइपुगेका आफ्ना साथीलाई आफ्नो घर घुमाउँदै चोटाकोठा देखाए ।

एउटा बडो सानदार र आधुनिक सुखसुविधाले परिपूर्ण कोठा देखाउँदै वेल्सले भने, ‘यो मेरो सेवकको कोठा हो ।’ अर्को तलामा पुगेपछि वेल्सले एउटा साधारण कोठा देखाउँदै भने, ‘यस कोठामा चाहिँ म र मेरो परिवारका सदस्य बस्छौँ ।’

साथी आश्चर्यचकित थिए । उनलाई अचम्म लागेको थियो । वेल्स आफूचाहिँ यति साधारण कोठामा बस्छन् र आफ्नो सेवकका लागि यति ठाँटबाँटले सजाइएको कोठा दिएका छन् । खसखस थाम्न नसकेर उनले आखिरमा सोधे, ‘वेल्स, एउटा कुरा बताउनुस् त, तपाईंले आफ्नो सेवकलाई ठुलो र राम्रो कोठा बनाइदिनुभएको छ । तर, आफू भने अत्यन्त साधारण कोठामा बस्नुहुन्छ । यस्तो किन ? तपाईं आफैँ तल्लो तलाको सानदार कोठामा किन बस्नुहुन्न ?’

साथीको कुरा सुनेर वेल्स गम्भीर भए र भने, ‘मेरा प्रिय साथी, म सेवकलाई आफूभन्दा धेरै महŒवपूर्ण मान्छु, उनीहरू मेरा लागि आफूभन्दा धेरै प्रिय छन् ।’ ‘यस्तो किन ?’ साथीले फेरि सोधे । ‘किनकि साथी, म केटाकेटी छँदा मेरी आमा पनि कसैकी सेविका थिइन् ।’ वेल्सका कुरा सुनेर उनका साथी गम्भीर भए । 

सुझावित समाचार