मजदुरी गरेर एमबिबिएसको छात्रवृत्तिमा नाम निकालेका सिराहाको बरियारपट्टी गाउँपालिका– २, श्रीपुर गाउँका सत्यनारायण साफीलाई आर्थिक सहयोग गर्नेहरूको संख्या बढ्दै गएको छ।
लहानका सुनचाँदी व्यवसायी विकास सारडाले बिहीबार आफ्नो ४६औँ जन्मदिनको अवसर पारेर साफीको घरमै पुगेर एमबिबिएस अध्ययन गरुञ्जेल पाँच वर्षसम्म हरेक महिना १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
जिल्ला उद्योग उद्योग वाणिज्य संघ लहानका अध्यक्ष तथा सुनचाँदी व्यवसाय संघका केन्द्रीय सदस्यसमेत रहेका सारडाले पाँच वर्षको अवधिमा ६ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बताए।
त्यस्तै, संघको २६औँ अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार लहानका व्यवसायी प्रदीपकुमार गुप्ताको प्यानलले पनि साफीलाई २५ हजार रुपैयाँ उपलब्ध गराएको छ।
ऋण सापटी गरेर दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रेसनसहित स्वास्थ्य बिमा, कलेजलाई धरौटी बुझाए पनि कलेज पढ्न थालेपछि नियमित खर्च कसरी धान्ने भन्ने समस्याले पिरोलिएका उनलाई व्यवसायी, राजनीतिकर्मी, स्थानीय सरकारलगायतले घरमै पुगेर आर्थिक सहयोग उपलब्ध गराइरहेका छन्। छात्रवृत्तिमा नाम निस्किएको भए पनि होस्टेल, किताब, स्टेसनरी, लत्ताकपडालगायतको खर्च आफैँ व्यहोर्नुपर्छ।
फर्किँदै साफी परिवारमा खुसी
हातमुख जोड्नकै लागि प्रायः हरेक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म गिटी, बालुवा, सिमेन्ट बोकेर मजदुरी गरेका साफीले दुईपटकको प्रयासमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए। त्यसपछि कलेज अध्ययन कसरी गराउने भन्ने चिन्तामा रहेको साफी परिवारमा आर्थिक सहयोग जुट्न थालेसँगै खुसी फर्किएको बाबु मधुरीले सुनाए।
‘दलित परिवारको छोराले पाएको सफलतामा स्थानीय सरकार, समाजसेवी, राजनीतिकर्मीहरूले खुलेर सहयोग गरिरहेका छन्,’ उनले भने। घरको जेठो छोरा भएकाले परिवारको हातमुख जोड्न मजदुरी गर्दै छात्रवृत्तिमा नाम निकालेपछि साफी र उनको परिवार पछिल्लो दुई सातादेखि सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा चर्चामा छन्।
अतिगरिब परिवारका साफीले १३ महिना मजदूरी गरेर घरमै नियमित अध्ययन, मिहिनेत र दृढताको कारणले छात्रवृत्तिमा नाम निकालेको उनलाई पढाएका शिक्षकसमेत रहेका बरियारपट्टी– ३ का वडाध्यक्ष विनोदकुमार यादवले बताए।