नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले पार्टीको नियमित महाधिवेशन स्थगन गरेका छन्। बिहीबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्रीद्वयले विशेष महाधिवेशन नै मुख्य विकल्प रहेको प्रस्ट पारेका छन्।
‘५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी केन्द्रीय कार्यालयमा दर्ता गराएको विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने प्राथमिक विकल्प नियमित महाधिवेशन नै थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको छ,’ वक्तव्यमा भनिएको छ।
पार्टी विधानबमोजिमको विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको प्रष्ट्याउँदै महामन्त्रीद्वयले भनेका छन्, ‘उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’