सिराहाबाट दुई क्विन्टलभन्दा बढी गाँजा बरामद

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

सिराहाको पश्चिमी कर्जन्हा नगरपालिका– १०, मनहर्वाबाट प्रहरीले खाली घरमा लुकाएको अवस्थामा दुई क्विन्टलभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचनाको आधारमा बुधबार दुई क्विन्टल १० किलो गाँजा बरामद भएको हो। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले मनहर्वास्थित घरमा १० वटा जुटको बोरामा प्याक गरी लुकाएको अवस्थामा उक्त परिमाणको गाँजा बरामद गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।

उनका अनुसार बरामद गरिएको गाँजा प्रक्रिया पुर्याएर मिर्चैया प्रहरीमा ल्याई थप अनुसन्धान भइरहेको छ। प्रहरीले घर र घर रहेको जग्गा कसको हो भन्ने केही खुलाएको छैन।

पछिल्लो मंसिर महिनामा जिल्ला प्रहरी र मातहतका प्रहरी युनिटहरूबाट खटिएका प्रहरी टोलीले एक हजार १९ किलो ९३० ग्राम प्रतिबन्धित गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

सुझावित समाचार