इजरायलले गाजामा हाल कार्यरत दर्जनौँ सहायता संस्थालाई ३६ घन्टाभित्र बन्द गर्ने घोषणा गरेको छ । गाजा क्षेत्रका प्यालेस्टिनी तथा त्यहाँ सक्रिय अन्तर्राष्ट्रिय कर्मचारीको व्यक्तिगत विवरण हस्तान्तरण गर्नुपर्ने नयाँ सर्त पूरा नगरेकाले यस्तो कदम उठाइएको तेल अभिभले जनाएको छ । बन्द हुने भनिएको समूहको सूचीमा एक्सन–एड, अन्तर्राष्ट्रिय उद्धार समिति र मेडेसिन्स सान्स फ्रन्टियर्स (एमएसएफ)जस्ता विश्वचर्चित मानवीय संस्था पनि समावेश छन् ।
इजरायली घोषणापछि १० पश्चिमा देशका विदेश मन्त्रीहरूले आईएनजीओहरू जागामा मानवीय सहाताको आधारभूत हिस्सा भएको भन्दै इजरायली कदमको विरोध जनाएका छन् । साथै तिनले गाजामा ‘मानवीय अवस्था बिग्रँदै गएको’प्रति ‘गम्भीर चिन्ता’व्यक्त गर्दै अवस्था ‘विपत्तिको अवस्था’ रहेको बताएका छन् । १० विदेशमन्त्रीहरू बेलायत, फ्रान्स, क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, जापान, नर्वे, स्विडेन र स्विट्जरल्यान्ड रहेका छन् ।
ती मन्त्रीले संयुक्त राष्ट्र संघ र यसका साझेदारलाई गाजामा आफ्नो काम जारी राख्न र ‘आयातमाथिको अनुचित इजरायली प्रतिबन्ध हटाउन’ आह्वान गरेका छन् । इजरायलले हमासले गाजा क्षेत्रमा सुरुङ पुनर्निर्माण गर्न सक्ने भन्दै सयौँ निर्माणको वस्तुलाई गाजा प्रवेशमा रोक लगाएको छ । रोक लगाइएका वस्तुमा केही अत्यावश्यक चिकित्सा र आश्रय निर्माण गर्न प्रयोग हुने उपकरणसमेत समावेश छन् ।
१० देशका विदेशमन्त्रीले गाजामा मानवीय सहायताको प्रवाह बढाउन सीमानाका खोल्न पनि आह्वान गरे । ‘ढिलो भन्सार प्रक्रिया र व्यापक जाँचले ढिलाइ निम्त्याउँदै छ । जबकि, व्यावसायिक कार्गोलाई भने सहज रूपमा भित्र जान अनुमति दिइँदै छ,’ मन्त्रीहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।