देउराली सहकारी ठगी प्रकरण : अध्यक्षसहित चार पदाधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

दुई अर्ब ६८ करोड बिगो र दुईदेखि १० वर्ष कैद सजाय माग

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंसहित चारजनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुधबार चौलागाईंसहित पूजा खत्री, राजेन्द्र खत्री र मनोज भण्डारीविरुद्ध जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय ललितपुरमार्फत विभागले बुधबार अदालतमा मुद्दा दर्ता गरेको हो । 

अभियोग पत्रअनुसार रवीन्द्र, पूजा र राजेन्द्रविरुद्ध दुई अर्ब ६८ करोड ५१ लाख १६ हजार रुपैयाँ बिगोसहित दुईदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । गैरन्यायिक तवरले आर्जन गरिएका उनीहरूका सबै सम्पत्ति जफत गर्ने माग पनि अभियोगपत्रमा गरिएको छ । अर्का प्रतिवादी मनोजविरुद्ध भने सम्पत्ति जफतको मात्रै माग गरिएको छ । 

सरकारी वकिल कार्यालय ललितपुरका जिल्ला न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार अभियुक्तविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत अदलतमा मुद्दा दर्ता भएको बताए । ‘देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित चार अभियुक्तविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूमध्ये रवीन्द्र, पूजा र राजेन्द्रविरुद्ध दुई अर्ब ६८ करोड ५१ लाख १६ हजार ४३१ रुपैयाँ बिगोसहित दुईदेखि १० वर्षसम्मको कैद सजाय माग गरिएको छ । मनोजविरुद्ध भने सम्पत्ति जफतको मात्रै माग गरिएको छ,’ उनले भने ।

रवीन्द्र सहकारीका अध्यक्ष, पूजा उपाध्यक्ष, मनोज कोषाध्यक्ष र राजेन्द्र ऋण समितिका संयोजक हुन् । रवीन्द्र, पूजा र राजेन्द्रले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा १ (क), (ख) र (ग) विपरीतको कसुर गरेको अनुसन्धानबाट देखिएको छ । मनोजले भने मतियारका रूपमा काम गरेको देखिएको छ । ऐनको दफा ३ को उपदफा १ को कसुरलाई यसरी परिभाषित गरिएको छ । 

क) सम्पत्तिको गैरकानुनी स्रोत (इलिसिट अरिजिन) लुकाउने वा छल्ने वा कसुरमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा–पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण । ख) कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा–पाउँदै वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, नि:सर्ग (डिस्पोजिसन), कारोबार (मुभमेन्ट), स्वामित्व वा सो सम्पत्तिउपरको अधिकार लुकाउने, छल्ने वा बदल्ने कार्य गर्ने ।  ग) कसुरबाट प्राप्त सम्पत्ति हो भन्ने जानीजानी वा विश्वास गर्नुपर्ने मनासिब आधार हुँदाहुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्ने ।

ऐनको दफा ३० को उपदफा १ मा कसुरदारलाई बिगोको दोब्बर सजाय र दुई वर्षदेखि दश वर्षसम्मको कैद सजाय हुने भनिएको छ । त्यस्तै, सोही ऐनको दफा ३४ को उपदफा १ (क) अनुसार उनीहरूको सम्पत्तिसमेत जफत हुनेछ । दफामा भनिएको छ, ‘दफा ३ को उपदफा १ मा उल्लिखित सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गर्ने व्यक्तिलाई बिगोको दोब्बर जरिवाना र कसुरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुनेछ ।’

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले चार अभियुक्तविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार बिगो र कैद सजाय माग गरिएको बताए । ‘देउराली सहकारीका चार सञ्चालकविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरअन्तर्गत अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूले बचतकर्ताबाट जम्मा भएको रकमलाई तह–तह बनाई रूपन्तरण र हस्तान्तरण गरेको भेटियो । त्यसो हुँदा उनीहरूविरुद्ध दुई अर्ब ६८ करोड रुपैयाँ बिगोसहित कानुनमा व्यवस्था भएअनुसारको कैद सजाय माग गरिएको छ,’ उनले भने ।

सहकारीको प्रधान कार्यालय सातदोबाटोमा राखिएको थियो । उनीहरूले काठमाडौंको न्युरोड र र भक्तपुरमा समेत शाखा कार्यालय खोलेका थिए । जसबाट उनीहरूले २० हजारभन्दा धेरै बचतकर्ताका सात अर्बभन्दा धेरै रकम उठाएका थिए । उनीहरूले सोही रकम दुरुपयोग गरेका थिए । विभागको अनुसन्धान प्रतिवेदनअनुसार बचतकर्ताको रकमबाट रवीन्द्रले मात्रै मुलुकको विभिन्न २८ स्थानमा २६,९९२.८० वर्गमिटर जग्गा खरिद गरेका थिए । उनीकी श्रीमती पूजाले ११ स्थानमा ३,९०२.४३ वर्गमिटर जग्गा खरिद गरेकी थिइन् । राजेन्द्रले सात ठाउँमा १४,१८०.५० वर्गमिटर जग्गा खरिद गरेका थिए । त्यसबाहेक रवीन्द्र र पूजाको संयुक्त नाममा मात्रै २,०३४.८७ वर्गमिटर जग्गा खरिद गरेको फेला परेको छ । 

तीनजनाले कुल ५१,९७२.०५ वर्गमिटर जग्गा खरिद गरेको देखिए पनि उनीहरूले मालपोत कार्यालयमा थैली भने निकै कम कायम गरेको भेटिएको छ । त्यसबापत आर्जन गरेको रकमले पनि उनीहरूले निजी सम्पत्ति जोडेको देखिएको छ । अभियोगपत्रमा जफत माग गरिएको सोहीबापतको सम्पत्ति हो । रवीन्द्र, पूजा र राजेन्द्रले विभिन्न १० वटा कम्पनी खडा गरी सोही कम्पनीका नाममा सहकारीबाट रकम निकालेका थिए । त्यसमध्ये थ्र्र्री ब्रदर्स मार्केटिङ, पूजा ट्रेडिङ एन्ड मार्केटिङ र पूजा ट्रेड इन्टरनेसनलको नाममा रहेको सम्पत्ति पनि जफत माग गरिएको छ । मनोजका नाममा तीन ठाउँमा रहेको १६३१.४४ वर्गमिटर जग्गा पनि जफत गरिनुपर्ने भनिएको छ । 

उनीहरूविरुद्ध यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पनि ठगी र संगठित अपराध कसुरअन्तर्गत अनुसन्धान गरेको थियो । उमेश थापासहित बचतकर्ताको जाहेरीपछि सुरु भएको अनुसन्धानमा उनीहरूले ६५ करोड ७७ लाख ६ हजार ८५३ रुपैयाँ ठगी गरेको खुलेको थियो । 

सुझावित समाचार