राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपालबिच एकता भएको छ । २१ फागुनमा चुनाव हुने करिब निश्चितजस्तो भएपछि लिङ्देन र थापाले पार्टी एकता गरेका हुन् ।
एकतासँगै थापा चार वर्षपछि पुरानै घर राप्रपामा फर्किएका छन् । एकतापछि दलको नाम, झन्डा र चुनाव चिह्न फेरिएको छैन । नेतृत्वमा पनि अध्यक्षका रूपमा लिङ्देन नै रहनेछन् । एकतासम्बन्धी ६ बुँदे आधारपत्रमा दुवै अध्यक्षले हस्ताक्षर गरेका छन् । तर, आधारपत्रमा थापाको पद र वरीयता खुलाइएको छैन ।
आधारपत्रमा फुटअघि तत्कालीन राप्रपाको महाधिवेशन हुँदाको पदमा रहेकाहरू नै केन्द्रीय समितिमा कायम रहने उल्लेख छ । यसअनुसार विभाजनअघि निर्वाचित भएर राप्रपा नेपालतिर लागेका सबै केन्द्रीय सदस्य स्वत: राप्रपाको केन्द्रीय समितिमा रहनेछन् । साथै, सहमतिका आधारमा राप्रपा नेपालका तर्फबाट पदाधिकारी र सदस्यहरू केन्द्रीय कार्यसमितिमा रहने जनाइएको छ । त्यस्तै, प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मका कमिटीलाई क्रमश: समायोजन गर्दै लगिने र दुवै पार्टीका भ्रातृ संस्थाको पनि सम्मानजनक समायोजन गरिने उल्लेख छ ।
राप्रपाको ०७८ मा पारित विधानअनुसार पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राज्य, राज्यसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति मार्गदर्शन हुने पनि आधारपत्रमा उल्लेख छ ।
एकीकरणपछिको राप्रपामा पूर्वअध्यक्षको हैसियतमा थापालाई अध्यक्ष लिङ्देनपछिको दोस्रो वरीयता दिने तयारी छ । तर, थापाको वरीयताबारे अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट मात्र तय हुन सक्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । ‘अहिलेलाई उहाँ पूर्वअध्यक्षको हैसियतमा रहनुहुन्छ, वरीयता खुलाइसकेको छैन । निवर्तमान अध्यक्ष भएकाले अध्यक्षपछिको एक नम्बर वरीयता पनि हुन सक्छ, तर त्यसबारे अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरेबमोजिम हुनेछ,’ उनले भने ।