मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले तेस्रोपटक विस्तार गरेर बुधबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । मुख्यमन्त्री यादवले ६ मन्त्री थपेसँगै मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । मधेश सरकारमा कांग्रेसले मुख्यसहित चार मन्त्री लिएको छ । त्यस्तै, जसपा, जनमत र माओवादीले दुई–दुई तथा एकीकृत समाजवादी र लोसपाले एक–एक मन्त्री पाएका छन् ।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले जसपाका मनीषकुमार सुमनलाई श्रम तथा यातायात र राजकुमार गुप्तालाई भौतिक पूर्वाधार तथा कांग्रेसका शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण र श्यामप्रसाद पट्टेललाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको शपथ गराएका हुन् । त्यस्तै, जनमतका वसन्त कुसवाहा खेलकुद र माओवादीका फकिरा महतोलाई गृह, सञ्चार तथा कानुनमन्त्रीको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री यादवले बुधबारबाट मधेश प्रदेश सरकारले पूर्णता पाएको बताए । ‘अब प्रदेश सरकार नीति निर्माण, विकास र जनताका समस्या समाधानतर्फ अझ प्रभावकारी रूपमा अघि बढ्नेछ,’ उनले भने ।
यादव कांग्रेस, जसपा, जनमत, लोसपा, माओवादी र एकीकृत समाजवादीको समर्थनमा १९ मंसिरमा मुख्यमन्त्री बनेका थिए । २१ मंसिरमा पदभार ग्रहण गर्दै उनले कांग्रेस, जनमत र एकीकृत समाजवादीबाट एक–एक गरी तीन मन्त्री नियुक्त गरेका थिए । उनले दोस्रो चरणमा २९ मंसिरमा माओवादी र लोसपाबाट पनि एक–एक मन्त्री थपेर मन्त्रिपरिषद् ६ सदस्यीय बनाएका थिए ।
मन्त्रिपरिषद्मा भागबन्डाका लागि दलहरूबिच सहमति जुट्न नसकेपछि उनले मन्त्रिपरिषद् विस्तार थाती राख्दै ४ पुसमा विश्वासको मत लिएका थिए । विश्वासको मतबाट सरकारको निरन्तरता निश्चित भएपछि मात्र उनले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।