प्रेरक प्रसंग : शिष्यलाई गुरुको प्रश्न

बिहिबार, १७ पुष, २०८२
डिजिटल संस्करण

उहिल्यै प्राचीनकालमा कोसीनदीको किनारमा एक ज्ञानामृत नामका साधुको आश्रम थियो । उनको आश्रममा थुप्रै शिष्य ज्ञानको खोजीमा आउँथे । गुरु ज्ञानामृत कठोर अनुशासनमा बस्थे । उनी सुकेको परालमा सुत्थे । शाकाहारी भोजन गर्थे । दैनिक कठोर साधनामा लीन हुन्थे । उनको ज्ञान र तपस्वीसमान जीवनको निकै टाढा–टाढासम्म चर्चा हुने गर्थ्यो ।

गुरु ज्ञानामृतको त्यस्तो कठोर साधना तथा संयमित दिनचर्याबाट प्रभावित भएर उनका एक शिष्य ज्ञानभद्रले उनको अनुसरण गरेर छिटै ज्ञानमा निपूण हुने विचार गरे । यस्तो विचार मनमा आउनासाथ उनले गुरुले झैँ सुकेको पराललाई आफ्नो शय्या बनाए । खानपिनमा सुधार गरे । साधनामा पनि लीन भएजस्तो गर्न थाले । उनको दैनिक व्यवहारमा निकै परिवर्तन देखिन थाल्यो । उनी पढाइतिरभन्दा पनि गुरुको बाहिरी आवरण र बानीव्यहोराको नक्कलमा जुटिरहे । 

यो सब अनुभूत गरिरहेका गुरु ज्ञानामृतले उनीसित सोधे– बाबु ज्ञानभद्र, हिजोआज तिमीमा निकै परिवर्तन आएको महसुस गरिरहेको छु । यो सब के भइरहेको छ ? गुरुको प्रश्न सुनेपछि शिष्य ज्ञानभद्रले विनम्रतापूर्वक भने– गुरु ! म हजुरजस्तै बनेर छिटै ज्ञानमा निपूण हुन चाहन्छु । यी हेर्नुहोस् त, यी मेरा श्वेतवस्त्रले मेरो विशुद्ध ज्ञानको खोजीलाई दर्साउँछन् । मेरो शाकाहारी भोजनले मेरो शरीरमा सात्विकता वृद्धि हुनेछ । र, सुख, सुविधाबाट टाढै बस्ने मेरो दैनिकले मलाई आध्यात्मिक पथमा अग्रसर गराउँछ ।

ज्ञानभद्रका कुरा सुनेपछि गुरु मुसुक्क मुस्कुराए र आफ्ना शिष्यलाई लिएर उनी खेततिर लागे । त्यहाँ एउटा सेतो घोडा चरिरहेको थियो । गुरुले सो घोडालाई देखाउँदै शिष्यसित भने– तिमीले यो घोडालाई देख्यौ ? यसको रौँ सेतो छ । यो केवल घाँस, दाना र पानी मात्र खान्छ । तबेलामा परालमाथि नै सुत्छ । के तिमी यस घोडामा अलिकति पनि साधुता देख्छौ ? के तिमीलाई लाग्छ कि भविष्यमा यो घोडा छिटै ज्ञानमा पूर्ण हुनेछ ? त्यसैले, तिमीले मेरो बाहिरी आवरण र आचरणको नक्कल गर्ने होइन, अध्ययन कार्यमा मन लगाऊ अनि मात्र तिमी महान् विद्वान् बन्न सक्छौ । गुरुको भनाइले ज्ञानभद्रका आँखा खुले ।

सुझावित समाचार