सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा २४ करोड धरौटी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको खातामा जम्मा

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानको क्रममा बरामद गरेका, रोक्का राखेका तथा नियन्त्रणमा लिएका सम्पत्ति तथा साधनहरू कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई उपलब्ध गराउने भएको छ। कसुरजन्य सम्पत्तिको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले दुई विभागबिच बुधबार यस्तो समझदारी भएको हो। 

सोही समझदारीअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २४ करोड ९७ लाख ४६ हजार धरौटी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको धरौटी खातामा जम्मा गरेको छ। 
‘यस समझदारीले दुवै विभाग र सम्बद्ध निकायहरूबिचको कार्यात्मक सहयोग र समन्वय अझ सुदृढ भई कानुन कार्यान्वयन क्षमतामा सुधार आई कसुरजन्य सम्पत्ति तथा कसुरजन्य सम्पत्ति तथा साधनको व्यवस्थापनमार्फत आगामी दिनमा सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको अन्तर्राष्ट्रिय मापदण्ड कार्यान्वयनमा समेत थप प्रभावकारिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ,’ दुवै विभागले बुधबार संयुक्त रूपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 

दुई विभागबिच २१ कात्तिक २०८१ मा भएको समझदारीलाई अद्यावधिक गरी परिमार्जित समझदारी भएको हो। कसुरजन्य सम्पत्तिको व्यवस्थापन गर्ने जिम्मेवारी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको हुने भनेर ऐनले तोके पनि कतिपय निकायले आफैँ व्यवस्थापन गर्दा प्रभावकारी हुन सकेको छैन। 
 

सुझावित समाचार