मन्दिरको खेतको धान दिन नमानेको विवादमा रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको हत्याको आरोपमा फरार रहेका राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डल अदालतमा हाजिर भएका छन्।
मण्डल बुधबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका र उनको बयान सकिएर थुनछेक बहस जारी रहेको छ।
तत्कालीन बेल्हीचपेना गाविस– ३ स्थित रामजानकी मन्दिरका पुजारी जन्त्रीदास वैरागीको अस्थिपञ्जर ०५५ साउन ३ गते फेला परेको थियो। हाल राजगढ गाउँपालिका अध्यक्ष रहेका ओमप्रकाश मण्डलका बुबा गंगाराम मण्डलले मन्दिरको नाममा रहेको ११ बिघा जग्गाको धान मन्दिरलाई दिन नमानेपछि विवाद चर्किएको र त्यसकै कारण हत्या भएको अभियोगपत्रमा उल्लेख छ।
अभियोगपत्रअनुसार राजविराजमा बैठक गर्ने बहानामा पुजारीलाई बोलाएर कोशी नहरको उत्तर–दक्षिण पुलनजिक हत्या गरी शव नहरमा फालिएको थियो। मन्दिरको बाली लुटपाट र ज्यान मार्ने धम्की दिएको भन्दै पुजारीले गंगाराम मण्डलविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदनसमेत दिएका थिए।
तर, ‘मिलापत्र गराइदिन्छु, गंगाराम मण्डल राजविराजमै छन्, भेटेर प्रहरी चौकी पथलगाडामा बैठकमा जानुपर्छ’ भन्दै बच्चा यादव बौकाले पुजारीलाई लिएर गएको अभियोगपत्रमा उल्लेख छ। त्यसको १० दिनपछि पुजारीको अस्थिपञ्जर फेला परेको थियो। उक्त अस्थिपञ्जरको राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा परीक्षणसमेत गरिएको छ।
अभियोगपत्रमा भनिएको छ, ‘मन्दिरको नाममा रहेको जग्गा र पोखरीको आम्दानी हिनामिना भएको तथा बाली लुटपाटसम्बन्धी विवादका कारण रिसइबी राखी मृतकलाई कर्तव्य गरी हत्या गरी नहरमा शव फालिएको पुष्टि भएको छ।’