नयाँ पनि उस्तै भन्ने भाष्यलाई सच्याउँछौँ : रवि लामिछाने

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पार्टी पनि उस्तै भन्ने भाष्यलाई आफ्नो पार्टीले सच्याउने दाबी गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकको बन्दसूचीमा उल्लेख भएका नामप्रति विवाद भएको भन्दै पत्रकार सम्मेलन गरेर उनले आफूहरूले हतारमा केही गल्ती गरेका भए सच्याउने प्रतिबद्धता जाहेर गरे ।

उनले यति धेरै समानुपतिक सूचीका नाममा केही १० जना चर्चित व्यक्ति भए भन्दैमा दलित, महिला, पिछडिएका वर्ग  अन्यलाई समावेश नगरेको भन्नुचाहिँ गलत बुझाई भएको उल्लेख गरे । उनले देश अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेकाले त्यसलाई निकास दिन यतिवेला सचेत नागरिकहरू आएका छन्, हामीले उनीहरूलाई साथमा लिएका हौँ भने । उनले  हामीलाई खबरदारी अझै धेरै गर्नुस् भनेर आमजनतासँग आग्रह गरेका छन् । ‘हामीले यतिवेला सम्मान होइन खबरदारी खोजेका छौँ । यो खबरदारी १० वर्षअघि गर्न सकेको भए त्यसले यस्तो दुर्दशा भाेग्नुपर्थेन,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकको बन्दसूचीमा उल्लेख भएका नामहरू सबै राजनीतिक चेत भएका व्यक्ति भएको उल्लेख गर्दै लामिछानेले देश बनाउने अभियानमा सबै पक्षका मान्छेहरू जोड्न पाउँदा आफू खुसी भएको उल्लेख गरे । ‘हामी विधिभन्दा बाहिर जाँदैनौँ । गयौँ भने पनि सच्याउँछौँ । हामीलाई अझै धेरै खबरदारी गर्नुस् । ’

कुलमान घिसिङ पक्षबाट आएका नामहरूमा केही समस्या भए पनि आफूहरू सच्याउन तयार रहेको उल्लेख गरे । ‘कुलमानजीहरूसँग सहमति भएको ११ घण्टामा नाम पेस गरेका हौँ । हतारैहतारमा गरिएकाले त्यहाँ केही समस्या होला, त्यो हामी सच्याउँछौँ ।’ लोकतान्त्रिक अभ्यासको सुरुवात गर्न आफूहरू आतुर रहेको उनले उल्लेख गरे ।  उनले समानुपातिक बन्दसूचीका नामहरू कस्ता–कस्ता हुन् अझ अध्ययन गर्न आग्रह गरे । 

सुझावित समाचार