यस वर्ष धनकुटामा अलैँची उत्पादनमा वृद्धि भएको छ। खोल्सीको कालो सुन भनेर चिनिने अलैँची अघिल्लो वर्षको तुलनामा ६.५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको हो।
अलैँची खेतीमा किसानहरूको आकर्षण बढेसँगै पछिल्लो समय कृषकहरूले अन्य बालीलाई मासेर पनि करेसाबारीमा समेत अलैँची खेती गर्न सुरु गरेका छन्। जसका कारण पनि अघिल्लो वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादन बढेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ। अघिल्लो आर्थिक वर्षमा धनकुटामा १२७ हेक्टर क्षेत्रफल जमिनमा अलैँची खेती भएको थियो भने यस वर्ष १३३ हेक्टर क्षेत्रफलमा अलैँची खेती भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानामगरले बताए।
गत वर्ष धनकुटामा ४०.३ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने यस वर्ष बढेर ४२.६४ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। ओसिलो पाखाभित्ता र खोलाखाल्सीमा मात्रै अलैँची उत्पादन गरिँदै आएको भए पनि धनकुटाका कृषकले पछिल्लो समय अन्य कृषि उत्पादन हुने क्षेत्रमा पनि अलैँची खेती गर्न थालेका छन्। अलैँची विशेष गरेर मसला, जडीबुटी र औषधिको रूपमा प्रयोग हुन्छ।
भिरालो, पाखोबारी, ओसिलो, सेपिलो ठाउँहरूमा उत्पादन हुने अलैँची धनकुटाका सातै पालिकाका विभिन्न स्थानमा आंशिक रूपमा उत्पादन हुन्छ। विभिन्न रोगको प्रकोपका कारण अलैँची बगान सखाप भए पनि नयाँ बगानहरूले उत्पादन दिन थालेपछि अलैँची उत्पादनमा सुधार हुँदै गएको हो।