क्रिकेटका पूर्वकप्तान मल्ल रास्वपाको समानुपातिक उम्मेदवार

बुधबार, १६ पुष, २०८२
डिजिटल संस्करण
  • सन् २०२३ मा राष्ट्रिय क्रिकेट टोलीबाट सन्न्यास लिएका ज्ञानेन्द्र मल्ल रास्वपाले बुझाएको समानुपातिक सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको पाँचौँ नम्बरमा छन्  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको एक सय १० जना समानुपातिक उम्मेदवारको सूचीमा नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई पनि समेटेको छ । मल्ल आदिवासी जनजाति क्लस्टरको पाँचौँ नम्बरमा छन् । मल्लभन्दा अगाडि डा. राम लामा, खुस्वुसरकार श्रेष्ठ मिङ्मा ग्याबु शेर्पा र डा. मनोहर प्रधान रहेका छन् । 

रास्वपाले नेपाल सुपर लिगको फ्रेन्चाइज टोली एसपी चितवनका अध्यक्ष तथा आइएमई ग्रुपका सचिन ढकाल पनि समानुपातिक सूचीमा समावेश गरेको छ । रास्वपाले खेलकुदको पृष्ठभूमिबाट दुई व्यक्तित्वलाई चयन गरेको हो । नेपालको क्रिकेट मल्ल अनुभवी क्रिकेटरमा पर्छन् । पहिलोपटक टी–२० आई विश्वकप खेल्दा र सन् २०१७ मा नेपालले एकदिवसीय राष्ट्रको मान्यता उनले प्रमुख भूमिका निर्वाह गरेका थिए । उमेर समूहदेखि सिनियर टोलीसम्म अनवरत रूपमा स्थान बनाएका मल्लले डेढ वर्षअघि सन्न्यासको घोषणा गरेका थिए । 

मल्लले सन् २००६ मा उमेरसमूहबाट क्रिकेट सुरु गरेका थिए । यसैगरी, नेपालको आइसिसी डिभिजन पाँचदेखि एकदिवसीय यात्रासम्म उनी सारथिका रूपमा रहे । मल्लले सन् २०२३ मा टोलीबाट सन्न्यास लिएका थिए । उनले निरन्तर रूपमा नेपाली टोलीबाट १७ वर्ष खेलेका थिए । उनले ३७ एकदिवसीयमा ८ सय ७६ रन तथा ४५ टी–२० आईमा ८ सय ८३ रन बनाएका छन् । उनले टी–२०आईमा एक शतक तथा दुई अर्धशतकीय इनिङ्स खेलेका थिए । 

एकदिवसीयमा भने उनले सात अर्धशतक लगाए । अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास घोषणा गरेपछि उनले नेपाली राष्ट्रिय पुरुष ‘ए’ टोलीका मुख्य प्रशिक्षकका रूपमा काम गरेका थिए । एसिसी र आइसिसीले प्रदान गर्ने प्रशिक्षण कोर्स गरेका मल्ल अहिले राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षकका रूपमा कार्यरत छन् । यसैगरी, उनी गत मंसिरमा सकिएको दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सका मुख्य प्रशिक्षक तथा निर्देशकका भूमिका देखिएका थिए । कर्णालीले लगातार दोस्रो संस्करण उनकै प्रशिक्षणमा एनपिएलमा प्रतिस्पर्धा गरेको थियो । पहिलो संस्करणमा तेस्रो स्थान रक्षा गरेको कर्णालीले यसपटक गतिलो प्रदर्शन गर्न सकेन । दोस्रो संस्करणमा कर्णाली चार अंकका साथ छैटौँ भएको थियो । 

यसैगरी, ढकाल भने खसआर्य पुरूष क्लस्टरको दोस्रो नम्बरमा छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ र आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका छोरा हुन् । उनी खेलकुद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत उनी सक्रिय छन् । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको तर्फबाट रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा परेका हुन् । 

क्यान अध्यक्ष चन्द बैतडीबाट प्रत्यक्षमा सिफारिस
कांग्रेस बैतडीले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई सिफारिस गरेको छ । सुरुमा एकल सिफारिस गरिए पनि विवाद भएपछि अन्य दुईजनाको नाम पनि सिफारिस गरेर केन्द्र पठाइएको थियो । प्रतिनिधिसभा उम्मेदवारका लागि सहमति नभएपछि ७३ मतदाताले मतदान प्रक्रियाबाट उम्मेदवार चयन गरेका थिए । गोप्य मतदानमा क्यान अध्यक्षसमेत रहेका कांग्रेस जिल्ला सभापति चन्दले शतप्रतिशत भोट प्राप्त गरे । पार्टी केन्द्रको परिपत्रअनुसार सहमति नभएपछि मतदान प्रक्रियामार्फत उम्मेदवार चयन गरिएको हो । जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा प्रदेश प्रतिनिधिको संयुक्त बैठकले मतदान प्रक्रियाबाट उम्मेदवार सिफारिस गरेको हो । चन्दले अध्यक्षका रूपमा लगातार दोस्रोपटक क्यान हाँकिरहेका छन् । उनकै कार्यकालमा नेपाल प्रिमियर लिगको दुई संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

खेलकुद महासंघबाट चारजना प्रत्यक्ष निर्वाचनमा सिफारिस
आगामी २१ फागनुमा हुने निर्वाचनमा प्रत्यक्ष रूपमा खेलकर्मी संलग्न हुने भएका छन् । रास्वपाले खेल क्षेत्रका संलग्न अनुभवी व्यक्तित्वलाई समानुपातिक सूचीमा समावेशको पृष्ठभूमिमा अखिल नेपाल खेलकुद महासंघले पनि चारजना पदाधिकारीलाई आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको छ । महासंघले महासंघका इन्चार्ज दीपक कोइराला, अध्यक्ष शिव कोइराला, उपाध्यक्ष किरण राई र महासचिव अञ्जन धमलालाई प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिफारिस गरेको जनाएको छ ।

महासंघले चारैजनाको निर्वाचन क्षेत्र सिफारिससमेत गरेको छ । इन्चार्ज कोइरालालाई कास्की १, अध्यक्ष कोइरालालाई काठमाडौं ७, उपाध्यक्ष राईलाई उदयपुर १ र महासचिव धमलालाई गोरखा १ निर्वाचन क्षेत्रका लागि सिफारिस गरिएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । इन्चार्ज कोइरालाले कुनै समयमा नेपाल क्रिकेट संघ (क्यान)को कार्यवाहक अध्यक्षका रूपमा काम गरेका थिए । ०७१ सालमा क्यानका अध्यक्ष टंक आङबुहाङ भ्रष्टाचारमा मुछिएपछि कोइरालाले क्यानको कार्यवाहक अध्यक्षका रूपमा काम गरेका थिए । महासंघबाट सिफारिस भएका शिव राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष हुन् । ०७७ मा राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षका रूपमा उनी प्रवेश गरेका थिए । तत्कालीन सरकारले उनलाई उपाध्यक्ष र सदस्यसचिवमा रमेश सिलवाललाई नियुक्त गरेको थियो । शिवसँग नेपाल तेक्वान्दो युनियनको अध्यक्ष र नेपाल खेलकुद महासंघको सहसंयोजकका रूपमा काम गरेको अनुभव छ । सन् २०१९ मा नेपालमै भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा उनले प्रचार–प्रसारको प्रमुख जिम्मेवारी पाएका थिए । महासंघबाट सिफारिस भएका अर्का व्यक्ति राई भने अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव हुन् । एन्फामा आफ्नै कार्यशैलीका कारण उनी पटक–पटक विवाद परेका छन् । पछिल्लो समयमा राई र वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काबिच आन्तरिक कलह देखिन्छ । गोर्खाका धमला राष्ट्रिय खेलकुद परिषद्का निवर्तमान बोर्ड सदस्य हुन् ।

राखेपको बोर्ड सदस्यको कार्यकाल केही महिनाअघि मात्र समाप्त भएको थियो । यद्यपि, उनी अहिले इस्पोर्टस् संघ नेपालका अध्यक्षका रूपमा सक्रिय छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी हुँदै धमला आइटिएफका प्रशिक्षक हुन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघबाट उनी आउटस्टयान्डिङ अवार्डबाट सम्मानित भइसकेका छन् । आइटिएफको २७औँ कंग्रेसमा उनले यो अवार्ड पाएका थिए । 

सुझावित समाचार